पर्यटकीय क्षेत्र विकासका लागि गुरुयोजना बनाउन सुझाव

पर्यटकीय क्षेत्र विकासका लागि गुरुयोजना बनाउन सुझाव

व्यवसायीले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । आइतवार नाटा सुदूरपश्चिमले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायीले उक्त सुझाव दिएका हुन् । सुदूरपश्चिमका पर्यकीय क्षेत्रको विकासका लागि आगामी बजेटमा योजनाहरू समावेश गर्न भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योे, वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टलाई व्यवसायीले उक्त सुझाव दिएका हुन् ।

सुदूरपश्चिमका पर्यटन व्यवसायी सिके सिंहले गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रको विकास गरिनुपर्ने बताए ।

उनले सबै क्षेत्रका पर्यटकीय क्षेत्रको विकासका लागि विज्ञको सुझाव सहित गुरुयोजना बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले गुरुयोजना सहित ‘एक जिल्ला एक पर्यटकीय क्षेत्र’ घोषणा गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले पर्यटनबाटै प्रदेशलाई समृद्ध बनाउन सकिने भन्दै अगामी बजेटमा पर्यटकीय क्षेत्रका योजनालाई प्राथमिकतामा राख्न सुझाव दिए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले पर्यटन क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । उनले भौतिक पूर्वाधारले पर्यटकलाई आकर्षण गर्नुका साथै सुविधा दिने भएकोले त्यसतर्पm लगानी गर्न प्रदेश सरकारसँग आग्रह गरे । साथै भारत लगायत सीमा नाकाबाट प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकलाई सहज वातावरण मिलाउनु पर्ने उनको भनाइ थियो । नीति निर्माण तथा योजना कागजमा मात्रै सीमित हुने गरेकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने होटल व्यवसायी कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारी बताउँछन् । उनले निजीक्षेत्रको लगानी सुरक्षित गर्नुका साथै स्थानीय व्यवसायीलाई सहुलियतको व्यवस्था गर्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले पर्यटन क्षेत्रको प्रोफाइल निर्माण, तथ्यांक संकलन गर्नुपर्ने तथा अतिथि सत्कारको संस्कार विकास गर्न प्रदेश सरकारलाई सुझाव दिएका थिए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी मन्त्री भट्टले पर्यटन क्षेत्रको विकास र व्यवसायीको हितका लागि पर्यटन ऐन निर्माण गर्न लागेको बताइन् । उनले पर्यटन ऐनको मस्यौदा तयार भइसकेकाले पर्यटन व्यवसायीसँग छलफल गरेर आगामी अधिवेशनबाट पारित गरिने बताइन् ।