डिजीटल नेपाल अभियान अन्तर्गत अप्टिकल फाइबर बिच्छ्याउने कामको आज औपचारिक सुरुवात हुँदै

डिजीटल नेपाल अभियान अन्तर्गत अप्टिकल फाइबर बिच्छ्याउने कामको आज औपचारिक सुरुवात हुँदै

सरकारले साेमबार अप्टिकल फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात गर्दैछ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो ।

डिजीटल नेपाल बनाउने अभियान अन्तरर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार दिउँसो १ बजे यसको सुरुवात गर्दै हुनुहुन्छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि साेमबार नै फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात हुने टेलिकमले जनाएको छ ।

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३ सय ७६ किलोमिटर फाइबर बिच्छ्याउनेछ । यसरी बिच्छ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्‍याउनेछ ।

सरकारले अप्टिकल फाइबर बिच्छ्याउने परियोजना अन्तरर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत झण्डै नौ अर्ब रुपियाँको लगानीमा अप्टिकल फाइबर बिच्छ्याउने योजना बनाएको थियो । 

त्यही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिच्छ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको थियो । फाइबर बिच्छ्याउन आवश्यक उपकरणका लागि सबै सम्झौता पूरा भइसकेकाले साेमबारदेखि यसको औपचारिक सुरुवात गर्न लागिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । देशका अरु ठाउँमा पनि अप्टिकल फाइबर विच्छ्याउने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो ।