त्रिशूलीमा बस दुर्घटना: मृत्‍यु हुनेको संख्या ८ पुग्‍यो

त्रिशूलीमा बस दुर्घटना: मृत्‍यु हुनेको संख्या ८ पुग्‍यो

गजुरी नगरपालिका-६ आदमघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।

पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए।

मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका चार जनाको भने सनाखत हुन सकेको छैन।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।