कैलालीमा लागु औषधसहित चार जना पक्राउ

कैलालीमा लागु औषधसहित चार जना पक्राउ

धनगढी । कैलालीमा लागु औषधसहित एकैदिन चार जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिकाका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरिएको हो ।

शनीबार ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा अत्तरिया पहाड रोडस्थित भु.पु.सैनिक होटेलमा काम गर्ने १८ वर्षीयदिपेश धामीलाई चेकजाँच गर्दा शुद्ध तौल १६० मिलिग्राम लागु औषध फेला परेको थियो ।

उनलाई सोधपुछ गर्दा गोदावरी २ बस्ने ३६ वर्षीय वसन्त खत्रीले दिएको भनी बयान दिएकोमा उनको घर कोठामा चेकजाँच गर्दा सिलिण्डरको मुनि प्लास्टिकमा राखेको ९८० मिलिग्राम लागु औषध फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरू दुवै जनाको साथबाट शुद्ध तौल १ ग्राम १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ । 

यस्तै स्याउले पोष्टबाट प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी ८ स्याउले चोकस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय रिजन कुमार बुढाले चलाएको सु।प।प्र ०१०११ प ८७३५ न। को मोटरसाइकललाई शंका लागि चेकजाँच गरेको थियो ।

पछाडि सवार बर्दगोरिया ४ बस्ने २३ वर्षीय चेतन पौडेलको साथबाट  १ ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको मालाखेती प्रहरीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गणेश बरालले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।