प्रथम बाजुरा महोत्सव सुरु

प्रथम बाजुरा महोत्सव सुरु

बाजुरा : प्रथम बाजुरा महोत्सव शुक्रबारबाट सुरु भएको छ। बाजुरा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आयोजना गरिएको हो। प्रथम बाजुरा महोेत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका छन्।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले आफू पहिलोपटक बाजुरा पुगेको बताउँदै बाजुराको विकासका लागि प्रदेश सरकार सक्रिय रहेको बताए। बाजुरामा पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको विकास आवश्यक रहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। बाजुरामा रहेको बडीमालिका, बुढीनन्दालगायत विभिन्न पर्यटकीय क्षेत्रको विकास गर्ने हो भने बाजुरा आर्थिक रूपमा सम्पन्न हुने मुख्यमन्त्री भट्टले बताए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री भएपछि पहिलोपटक बाजुरा पुगेका हुन्।

बाजुरा महोत्सव उद्घाटनका लागि मात्र मुख्यमन्त्री भट्ट बाजुरा सदरमुकाम मार्तडी पुगेका हुन्। प्रदेश सरकार गठन भएको १५ महिनापछि मुख्यमन्त्री भट्ट पहिलोपटक बाजुरा पुगेका हुन्। मुख्यमन्त्री भएपछि पहिलोपटक जिल्लामा पुग्दा जिल्लावासीको अवस्थाबारे बुझ्न पाएको र बाजुरेली जनताका लागि विशेष कार्यक्रम ल्याउने बताए।

मानव विकास सूचकांकमा ७७औँ जिल्लामा पर्ने बाजुराको सदरमुकाम मार्तडीसम्म पक्की सडक पुगे पनि यसले जिल्लाका सबै समस्या हल नहुने बताए। जिल्लाका सबै स्थानीय तहलाई आफ्नो पालिकामा आवश्यकता के हो त्यसको विवरण प्रदेशमा पठाए, प्रदेशले बजेटको व्यवस्थापन गर्ने मुख्यमन्त्री भट्टले बताए।

कृषि जडीबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मूल उद्देश्यका साथ जेठ ३ देखि ९ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन हुन लागेको प्रथम बाजुरा महोत्सवको पूरै ७ दिनसम्म मनोरन्जनलगायत विविध कार्यक्रम आयोजना गरिने बाजुरा उद्योग वाणिज्य संघले बताएको छ।

बाजुरा उद्योग वाणिज्य संघले प्रथम पटक सञ्चालन गर्न लागेको महोत्सवलाई सभ्य र भव्य बनाउन बाजुराका ९ वटै स्थानीय तह सह–आयोजक छन् भने राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय बाजुरा महोत्सवको मुख्य प्रायोजक छ।

महोत्सव अवलोकन गर्न सहभागी हुने अतिथि र सर्वसाधारणको स्वागतका लागि सदरमुकाम मार्तडीमा ५ वटा स्वागत गेट राखिएका छन्। त्यस्तै अवलोकनका लागि महोत्सवस्थलभित्र एक सयभन्दा बढी स्टल राखिएका छन्। महोत्सवस्थलभित्र दर्शक रमाउन पिङसमेत राखिएको छ।

प्रथम बाजुरा महोत्सवले बाजुराको कृषि, उद्योग, पर्यटन र व्यापारले बाजुराको विकास र समृद्धि गर्न टेवा पुग्ने आशा राखिएको उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए।

महोत्सवमा स्थानीयस्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाचलगायत कार्यक्रम प्रस्तुत गरिने आयोजकले बताएको छ। सात दिनसम्म सञ्चालन हुने महोत्सवमा बाजुराबासीलाई भरपुर मनोरन्जन दिन स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारको प्रस्तुति रहने आयोजक उद्योग वाणिज्य संघले बताएको छ।