दिसिनपाले चलायो सेतीपुलदेखि गोदरेगाडसम्म सरसफाइ अभियान

दिसिनपाले चलायो सेतीपुलदेखि गोदरेगाडसम्म सरसफाइ अभियान

डोटी । दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र ३ मा सरसफाइ अभियान सुरु गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सेती नदिको पक्की पुलदेखि गोदरेखोलासम्मको सडक वरपर सरसफाइ गरिएको नगरप्रमुख बाजी सिं खड्का (बिजय)ले जानकारी दिए । उनले नगरलाई सफा, स्वच्छ र हराभरा बनाउन अभियान नै संचालन गरेर अघि बढीरहेको बताए ।

सरसफाइ कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, बुद्धिजीवी, नागरिक समाज, प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी लगायतको सहभागिता रहेको थियो । नगरपालिकाभित्रका सबै वडाहरुमा यस्ता सरसफाइका अभियान अघि बढाइने नगरप्रमुखका स्वकिय सचिव नरेश खड्काले बताए । ‘सरसफाइ अभियानका लागि कार्ययोजना बनाउन वडाध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ’, खड्काले पाँजलोसंग टेलिफोनमा जानकारी दिए, ‘वडाध्यक्षको कार्ययोजना अनुसार जनप्रतिनिधी कर्मचारी लगायतको उपस्थिती रहन्छ ।’

बर्षौदेखि फोहर रहँदै आएको दिपायलको पिपल्ला बजारमा भने नगरप्रमुख खड्काले सुधार ल्याएका छन् । पछिल्लो समय बिगतको जस्तो फोहरको डंगुर, कुहिएका तथा सडेगलेका बस्तुहरुको व्यवस्थापन गरिएको छ । बजारमा फोहोर फ्याक्नेलाई दण्डजरिवाना गराउने भन्दै सूचना जारी गर्दा सरसफाइमा सुधार आएको भन्दै पिपल्लाका ब्यावसायी खुसी रहेका छन् ।

यद्यपी फोहोरको दिर्घकालिन व्यवस्थाका लागि ल्याण्डफिल साइड र सडकमा गाडीको अव्यवस्थित पार्किङ्गको व्यवस्था गर्न नसकेकोमा भने नगरपालिकाको आलोचना हुँदै आएको छ ।