प्रधानमन्त्री मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

प्रधानमन्त्री मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । 

लोकसभाका अध्यक्ष ओम बिरलाले आज बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । 

यसअघि अविश्वास प्रस्तावलाई लिएर लोकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार राखेका थिए । प्रधानमन्त्री मोदीले जवाफ दिएपछि लोकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतमार्फत मतदान गराएपछि प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको हो ।

आजको बैठकमा मोदीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरूको चर्को आलोचना गर्दै मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने बताउनुभएको छ । उहाँले मणिपुरमा महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन केन्द्र र राज्य सरकार मिलेर काम गरिरहेको बताउनुभयो ।

मणिपुर राज्यमा भएको हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो । सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पुर्‍याएको थियो ।