प्रधानमन्त्री कपको खेल तालिका र जर्सी सार्वजनिक

प्रधानमन्त्री कपको खेल तालिका र जर्सी सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका र जर्सी सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेसनलको व्यवस्थापनमा हुने  प्रतियोगितामा आगामी जेठ १० गतेबाट सुरु हुँदैछ। यसअघि जेट १ बाट सुरु हुने भनिएपछि मुलपानी मैदानमा पनि प्रतियोगिता आयोजना गर्ने भएपछि प्रतियोगिता सारिएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर र तल्लो मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमबीच प्रतिस्पर्धा हुनेछ। ‍शनिबार सार्वजनिक गरिएको खेल तालिका अनुसार समूह 'ए'मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन्।मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेलअघि उद्घाटन समारोह आयोजना गरिनेछ। त्यहि दिन प्रदेश २ र त्रिभुवन आर्मी क्लबबीच त्रिवि क्रिकेट मैदानमा पनि खेल हुनेछ।

जेठ २० गतेसम्म समूहका खेलहरु हुनेछन् भने २२ र २३ गते सेमिफाइनल तथा २४ गते फाइनल खेल हुनेछन्। सेमिफाइनल र फाइनल खेलहरु त्रिवि मैदानमा हुनेछन्। सबै खेलहरु बिहान ९ बजे शुरु हुनेछन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ। यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ।

खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउँने आयोजकले जनाएको छ। १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेप र त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ।

प्रतियोगिता व्यवस्थापक नेपालय इन्टरनेशनल र एक्सपर्टकाबीच शनिबार नै मुख्य प्रायोजन सम्झौता भएको छ।  एक्सपर्टका काठमाडौं निर्देशक खेम संग्रौला र नेपालयका अध्यक्ष सुवास प्रधानले सम्झौता आदान प्रदान गरेका थिए। 

कार्यक्रममा ७ प्रदेश र ३ विभागीय टोलीहरुले लगाउने जर्सी समेत सार्वजनिक गरियो। राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित आर्मीका कप्तान विनोद भण्डारी, नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठ, एपीएफका उपकप्तान पृथु बास्कोटाले जर्सी सार्वजनिक गरे।