नेविसंघ कार्यसमिति समावेशी नभएको भन्दै विद्यार्थीले गराए देउवाको ध्यानाकर्षण

नेविसंघ कार्यसमिति समावेशी नभएको भन्दै विद्यार्थीले गराए देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । लामो समयपछि आएको केन्द्रीय कार्यसमिति कुनै पनि किसिमबाट समावेशी नभएको भन्दै विद्यार्थीहरुले देउवाको ध्यानाकर्षण गराएका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालयकी कोषाध्यक्षसमेत रहेकी पदमा भुसालको नेतृत्वमा पत्र बुझाइएको हो । ‘समावेशीकरण लोकतान्त्रिक शासनको अवधारणा हो । राज्यको मूलधारमा आउन नसकेका वर्ग, समुदायलाई मूलधारमा ल्याउन गरिने प्रयास समावेशीकरण हो । नेपाल विद्यार्थी संघले सदैव समावेशीकरणलाई मध्यनजर गर्दै अघि बढ्नुपर्छ,' भुसालले भनिन् ।

नेविसंघको विधानमा पनि समावेशी सिद्धान्तको कार्यान्वयन गर्ने कुरालाई लेखिए पनि नेतृत्वले भने विधानविपरीत ७११ जनाको कमिटी बनाएको विद्यार्थीहरुले जनाए । यसले लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने र विचार मान्ने विद्यार्थीहरुलाई पचाउन कठिन भएको उनीहरुको बुझाइ छ ।

‘७११ जनाको कमिटीमा कुनै पनि लिंग र समुदायलाई नियमअनुरुप समावेश गरेको पाइँदैन, यो सरासर गलत हो । हामी लोकतान्त्रिक विचार मान्ने संगठनका विद्यार्थी नेता भएर पनि लोकतान्त्रिक नियम नमान्नु दु:खद कुरा हो,’ भुसालले भनिन् ।