पाण्डे र कार्कीलाई गरिएको कारवाही विधिसम्मत छैन : उपसभापति वडुवाल

पाण्डे र कार्कीलाई गरिएको कारवाही विधिसम्मत छैन : उपसभापति वडुवाल

धनगढी ।  नेपाली कांग्रेसका जिल्ला उपसभापति भिम वडुवालले कैलाली क्षेत्र नम्बर ४ का नेताद्वय लोकराजपाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई गरिएको कारवाही विधिसम्मत नभएको बताएका छन । कांग्रेस कैलालीको लेटरप्याडमा सूचना जारी गर्दै वडुवालले नेपाली कांग्रेस कैलालीका पार्टी सभापति नारायण दत्त भट्टद्वारा श्रावण २२ गते दुवै नेतालाई कारवाही गरिएको पत्र विधिसम्मत नभएको बताएका हुन ।

यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरीएको उल्लेख थियो । त्यसको प्रतिवाद गर्दै उपसभापति बडुवालले कारवाही विधिसम्मत नरहेको जानकारी गराएका हुन ।

‘पार्टीभित्र एउटा पद्धति हुन्छ, पार्टी विधानमा अनुशासन समिति समेत रहेको हुन्छ । त्यो अनुशासन समितिमा सामान्य जानकारी समेत नगराइकन सभापतिको एकल निर्णयले कसैलाई पनि निलम्बन गर्न पाइदैन’ उपसभापति वडुवालद्धारा जारी सूचनामा भनिएको छ ‘पार्टी विधानको वर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निर्णयले सभापतिलाई नै अनुशासनको कारवाही किन नगर्ने भन्ने प्रश्न उब्जीएको छ ।’

उपसभापति वडुवालले दशरथचन्द मेडिकल विश्व विद्यालय निर्माण अभियानको महिनौदेखि नेतृत्व गर्दै आन्दोलनरत रहेकाहरुलाई सम्मान गर्नुको सट्टा निलम्बन गर्ने पत्राचार गर्दा सिंगो कांग्रेसीजन र सुपबासीको समेत अपमान भएको उल्लेख छ ।

‘यो कठिन समयमा कुनै एक व्यक्तिले प्रतिसोध साधेर निर्णय गन्यो भन्दैमा स्वाभिमानी र इमान्दार कांग्रेसी साथीहरुले एकरत्ती पनि विचलित नभई पार्टी र जनताका पक्षमा इमान्दारीका साथ समर्पित भइरहन अनुरोध गर्दछु’ उपसभापति बडुवालद्धारा जारी सूचनामा भनिएको छ ।