कैलाली कांग्रेसद्धारा आगो र कार्किलाई अनुशासनको कारबाही

कैलाली कांग्रेसद्धारा आगो र कार्किलाई अनुशासनको कारबाही

धनगढी ।  कैलालीका दुई जना कांग्रेस नेताहरुलाई अनुशासनको कारबाही गरिएको छ । कांग्रेसको कैलाली जिल्ला कार्यसमितिले जिल्लाकै गोदावरी नगरपालिका – १ अत्तरिया र चुरे गाउँपालिका– ६ का १/१ जनालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा अत्तरियाका युवा नेता लोकराज पाण्डेय (आगो) र अत्तरियामै व्यवसाय गरिरहेका चुरे गाउँपालिकाका नेता सुरत कार्कि रहेका छन । उनिहरुलाई पार्टिको विद्यान विपरित कार्य गरेको भन्दै कारबाही गरिएको कांग्रेसका कैलाली जिल्ला सभापति नारायण दत्त भट्टद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

‘पार्टीको महत्वपुर्ण पदिय जिम्मेवारी बसेर पार्टि हितको बर्खिलाप हुने गरी र पार्टिको पदिय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताहरुको मानहानी हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने कार्य देखिन आएको छ’ पत्रमा भनिएको छ ‘यस सम्बन्धमा कांग्रेसको विद्यान २०१७ (संसोधन सहित) ले गरेको व्यवस्था अनुसार पार्टिको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।’

पत्रमा पार्टिको विद्यानको परिच्छेद – ९ अनुशासन सम्बन्धी व्यवस्थाको धारा (३४) कोे उपधारा (ङ) र (च) उल्लंघन गरेको देखिएकाले कारबाही गरिएको जनाइएको छ । आगो कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवम् कांग्रेसकै भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य हुन भने कार्कि कांग्रेसका क्षेत्रिय प्रतिनिधि हुन ।