भविष्यका लागि पैसा बचाउने सरल तरिका

भविष्यका लागि पैसा बचाउने सरल तरिका

अहिले मानिसहरुलाई सताउने मध्ये एउटा कारण हो कमाइ । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले बचाउन नसकेर समस्यामा परेका छन् । 

त्यसैले पनि मानिसहरुले भन्ने गरेको सुनिन्छ, ‘मेरो हातमा त पैसा नै बच्दैन के गर्ने ?’ यदि तपाई पनि पैसा बचाउन नसकेर हैरान हुनुहुन्छ भने यस्तो गर्नुहोस् ।

१. खर्चलाई टिप्ने बानी बसालौं

तपाईले पैसा बचाउन चाहानुहुन्छ भने सबैभन्दा पहिला जागर चलाएर हरेक दिन गर्ने खर्चलाई टिप्ने बानि बसाल्नुहोस् । ‘एक हजारको नोट जब साटिन्छ, त्यो कहाँ जान्छ थाहा नै हुँदैन ।’ मानिसहरुले धेरै गर्ने गुनासोमा यो पनि पर्छ । मानिसहरुको हातमा पैसा भएपछि त्यो कतिबेला खर्च भयो भन्ने नै मानिसले थाहा पाउँदैनन् ।  दुध, चिया, पत्रिका, तरकारी, आदिमा दैनिक रुपमा खर्चका शिर्षकहरु हुन्् । यस्ता सानासाना आवश्यकतामा खर्च भइरहेपनि मानिसहरुलाई यसको बारेमा थाहा भइरहेको हुँदैन । 

त्यसैले दिनभरिमा गरेको खर्चलाई बेलुका घरमा पुगेर त्यसलाई डायरीमा टिप्ने बानी गर्नुभयो भने तपाईले दिनभरिमा गरेका खर्चको जानकारी हुन्छ । यसले भोलिपल्ट हुने खर्चलाई बचाउँछ अथवा भोलिपल्ट पैसा खर्च गर्नु अघि एक पटक अघिल्लो दिनको खर्च याद हुन्छ । 

२. खर्चको योजना बनाउनुहोस्

तपाईले मासिक रुपमा गर्ने खर्चको पहिले नै योजना बनाउनु आवश्यक छ । यदि पैसा बचाउने हो भने, यो महिना कति खर्च गर्ने भन्ने पहिले नै योजना बनाउनु पर्छ । यसले तपाईको आवश्यकता के र त्यसमा पनि प्राथमिकीकरण गर्न सहयोग गर्छ । 

यसरी महिनामा गर्ने खर्चलाई पहिले नै योजना बनाएको हुनाले विशेष परिस्थिति बाहेक अन्य अवस्थामा त्यो भन्दा धेरै खर्च हुने छैन ।

३. पैसा बचाउने योजना 

तपाईसँग हरेक महिनाको आम्दानीको विवरण आएपछि त्यसलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा पनि योजना बनाउनु पर्छ । मानिसका आवश्यकता धेरै हुन्छन् तर आम्दानी सिमित हुने भएकोले त्यसलाई योजनाबद्ध रुपमा खर्च व्यवस्थापन गर्नुपर्छ । 

खर्चको विषयमा योजना बनाउँदै सँगसँगै बचतको विषयमा पनि योजना बनाउनु पर्छ । हरेक महिना हुने आम्दानीको २० देखि ३० प्रतिशत सम्म बचत गर्ने बानी गर्दा राम्रो हुने विज्ञहरु बताउछन् । 

हामीले महिनाको अन्त्यमा तलव पाउने वित्तिकै, बैंकमा अर्काे छुट्टै खाता बनाएर त्यसमा पैसा जम्मा गर्न सकिन्छ । जुन पैसा अत्यावश्यक बाहेक अन्य बेलामा प्रयोग नगर्ने विषयमा आफुलाई दह्रो बनाउनु पर्छ । 

४. उद्देश्य निधारण गर्ने 

हामीले कुनै उद्देश्य नराख्नाले पनि पैसा बचत गर्न सकिरहेका छैनौं । पैसा बचत गर्दैगर्दा यति महिना पछि यति पैसा जम्मा गरेर यो कुरामा खर्च गर्छु भन्ने योजना बनाउनु पर्छ । यसरी खर्चको उद्देश्य निर्धारण गर्दा बचत गर्नमा प्रोत्साहन मिल्छ । मानौं यो दशैमा मोटरसाइकल किन्ने वा ल्यापटप किन्ने उद्देश्य राखियो भने दशै सम्ममा गर्ने विभिन्न खर्चलाई बचाएर आफ्नो उद्देश्य पुरा गर्नमा निकै मेहनत गरिन्छ । 

यस्तै घर किन्ने वा गाडि किन्ने बेलामा पनि यसको सबै मुल्य यति महिना भित्र तिर्नेछु भन्ने उद्देश्य निर्धारण गर्दा अन्य फजुल खर्च बचाउन सकिन्छ । 
यसरी खर्चको उद्देश्य बनाउँदा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन बनाउनु पर्छ । छोटो समयमा पुरा गर्ने उद्देश्यलाई अल्पकालिन उद्देश्यमा राख्ने, यस्तै केही लामो लाई मध्यकालिन र निकै लामो खालको उद्देश्यलाई दिर्घकालिन बनाउने जस्तै छोराछोरिको शिक्षा । यसको लागि अहिले देखिनै बचत गर्ने ।

५. प्राथमिकता छनोट गर्ने

हामीले अत्यावश्यक वस्तु वा आवश्यक आवश्यकताका रुपमा कहिल्यै पनि छुट्याएका हुँदैनौं । त्यसैले गर्दा हामीसँग पैसा भएको बेलामा अगाडि जे देखिन्छ त्यसैमा खर्च गछौं । यसैले गर्दा हामी हामीलाई अत्यावश्यक आवश्यकतामा थप पैसा खर्च हुने संभावना हुन्छ । यसैले बेलैमा प्राथमिकता छनोट गर्दा पैसा बचत गर्न सहयोग मिल्छ । 

६. बढिरहेको बचतको बारेमा जानकारी लिइरहने 

बैंकमा भएको बचतलाई बेलाबेलामा गएर हेरिरहने बानि गर्नाले पनि बचतलाई प्रोत्साहन गर्न सहयोग मिल्छ । यसरी बचत हेरिरहँदा अघिल्लो महिनाको बचत भन्दा कम भएमा त्यसले झस्काउँछ । यदि अघिल्लो महिनाको भन्दा धेरै बचत देखिएमा त्यसले अर्काे महिना त्यो भन्दा धेरै बचत गर्न पनि प्रोत्साहन गरिरहेको हुन्छ । यदि यसरी बचत हेरिरहँदा अघिल्लो महिना भन्दा कम भएमा कारणको खोजि गरि अर्काे महिना देखि त्यसलाई समाधान गरि पुनः बचत बढाउन सकिन्छ । 

७. साप्ताहिक रुपमा खर्च गर्ने 

हामीले कुनै पनि वस्तुको आवश्यकता परेमा जति वेला आवश्यकता प¥यो । त्यति बेला नै किन्ने बानी हुन्छ । तर, यो निकै नराम्रो बानी हो । हप्ताभरि आवश्यक पर्ने वस्तुलाई पहिले नै टिपोट गरेर हप्तामा एक पटक मात्रै खर्च गर्दा अनावश्यक खर्च कम हुन्छ । यस्तै, एकै पटक एउटै पसलमा गएर सामान खरिद गर्दा पसलबाट छुट पनि पाइने संभावना हुन्छ । 

८. घरमा खाने बानी बसाल्ने 

हामी बिहानै उठेपछि चिया खानको लागि बाहिर निस्कन्छौ । यसले गर्दा अस्वभाविक रुपमा हाम्रो खर्च बढिरहेको हुन्छ । सकेसम्म घरमा नै बनाउन सकिने खानेकुरा घरमा नै खाने बानीले पनि बचत बढाउन सकिन्छ । 

हामी अल्छीले गर्दा खाना पनि बाहिर खाने वा खानाको सट्टा रेडिमेट वस्तु खाने गर्छौं । यस्ता खानेकुराले स्वास्थ्यमा असर पर्नुको साथै बचतमा पनि सहयोग मिल्छ ।