ललिता निवास प्रकरण : गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास प्रकरण : गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी लिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार काठमाडौँ जिल्ला अदालतले आइतवार उनीहरूविरुद्ध पुर्जी जारी गरेको हो । 

सर्वोच्च अदालतले आइतवार नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै जग्गा प्रकरणमा मन्त्रिपरिषद्मा निर्णय गर्नेहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललगायतमाथि अनुसन्धान गर्न बाटो खुलेको छ । 

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको ललितानिवास जग्गा प्रकरण सम्बन्धी निर्णयको छानबिनमा पूर्णरूपले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि सहर्ष सहयोग गरेको जनाएका छन् ।