काननु मन्त्री भट्टलाई बैतडी समाज कैलालीद्धारा सम्मान

काननु मन्त्री भट्टलाई बैतडी समाज कैलालीद्धारा सम्मान

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टलाई बैतडी समाज कैलालीले सम्मान गरेको छ । 

बैतडी प्रदेश सभा क्षेत्र नं २ बाट निर्वाचित भट्ट मन्त्री बनेपछि शनिबार समाजले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो । 

सो कार्यक्रममा बोल्दै मन्त्री भट्टले प्रदेश संरचनाका बारेमा प्रश्न उठाए संघीयता नै खतरा पर्ने दाबी गरे । उनले भने ‘अहिले प्रदेश संरचनाका बिषयमा प्रश्न उठाउन थालिएको छ । यसले संघीयतालाई नै खतरा हुन्छ ।’

मन्त्री भट्टले प्रदेश सरकारले जनमुखी कामहरु गरेर जनताको मन जित्नुपर्ने बताए । जनभावना अनुसार प्रदेश सरकारले काम गर्नुपर्ने र आफूपनि जिम्मेवार भएर काम गर्ने उनले बताए । 

मन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन बनाएर विधिको शासन स्थापनाका लागि पहल गर्ने बताए । 
बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको स्वागत तथा सम्मान कार्यक्रममा समाजका सदस्य केशव दत्त पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । मन्त्री भट्टलाई बाजागाजा सहित समाजको सचिवालयमा स्वागत गरिएको थियो । 

सुदूरपश्चिम सरकार विस्तारको क्रममा बिहीबारमात्रै भट्ट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । यसअघि कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सडक दुर्घटनामा परेर निधन भएको थियो ।