थाइल्याण्डमा जीवितै गाडिएको नवजात शिशुलाई कुकुरले उद्धार गरेको छ । किशोरी आमाले बच्चा जन्माएर पुरेको आरोप लागेको छ ।
जीवितै पुरिएको शिशुलाई कुकुरले उद्धार गरेको बिबिसीले उल्लेख गरेको छ । १५ वर्षकी किशोरीले आफू गर्भवति भएको कुरा अभिभावकबाट लुकाएको र सन्तानको रुपमा छोरा जन्मिएपछि पुरेको आरोप छ ।
थाइल्याण्डको उत्तरी क्षेत्रको बान नोङ्ग खाम गाउँमा शिशु गाडिएको ठाउँमा पिङ्ग पोङ्ग नाम गरेको कुकुरले भुक्दै खनिरहेको देखेपछि स्थानीय पुगे । कुकुरका मालिकले शिशुको खुट्टा देखिएपछि बल्ल थाहा भएको बताएका छन् ।
स्थानीयले उद्धार गरि शिशुलाई अस्पताल लगे, डाक्टरले स्वास्थ्य परीक्षण गरि शिशु स्वस्थ रहेको बताए । शिशुको उद्धार गरेको कुकुर अपाङ्ग छ । पिङ्ग पोङ्गलाई कारले ठक्कर दिएका कारण उसको एउटा खुट्टाले काम गर्दैन।
शिशुकी किशोरी आमालाई बच्चा त्याग गरेको तथा हत्याको प्रयास गरेको आरोप दर्ता गरिएको छ । उनलाई अहिले अभिभावकको निगरानी र मनोविदको परामर्शमा राखिएको छ ।
किशोरी आमाका आभिभावकले शिशुलाई हुर्काउने बताएका छन् । किशोरीले आफ्नो कार्यका लागि पछुतो मानेको बताएकी छन् ।