आकासियो हरियो तरकारीको भाउ

आकासियो हरियो तरकारीको भाउ

बजारमा हरियो तरकारीको भाउ आकासिएको छ। गत वर्षको यसै अवधिको तुलनामा हरियो तरकारीको प्रतिकिलो थोक मूल्य ५० देखि ७० रुपैयाँ महँगिएको छ। खुद्राको भाउ झनै अनिन्त्रित बनेको छ। मागको तुलनामा तरकारीको आयात र उत्पादन कम भएका कारण भाउ आकासिएको हो।

वैशाखको सुरुमा नै ठूलो वर्षा र असिनाले तरकारीखेती नष्ट गरेको छ। बोटबिरुवा नष्ट हुँदा तरकारीको उत्पादनमा कमी आएको छ। यस्तै भारतमा सुरु भएको विधानसभाको निर्वाचनका कारण उताबाट पनि आयात घटेको छ। निर्वाचनका कारण भारतमै तरकारीको मूल्य उच्च छ।  

गोलभेंडा, काउली, भान्टा, बोडी, घिउसिमी, करेला, परवर, भिण्डी, ब्रोकाउली, चम्सुर साग र रायो सागलगायतको मूल्य उच्च बनेको छ। काभ्रेका तरकारी उत्पादक किसान लक्ष्मण हुमागाईका अनुसार वैशाखदेखिको असिनापानीले तरकारीका बोटबिरुवा गलेर नष्ट भएका कारण उत्पादनमा कमी आएको छ। उत्पादन भएको तरकारीको मूल्य पनि खुद्रा व्यापारीले बढाएको हुमागाईले जानकारी दिए।  

धादिङका तरकारी किसान पविन्द्र श्रेष्ठले वर्षा र असिनापानीले तरकारीबाली नष्ट हुँदा त्यसको प्रभाव राजधानीको बजारमा परेको बताए। गत वर्षको जेठ २ गते प्रतिकेजी ४५ रुपैयाँ खुद्रा मूल्यमा बिक्री भएको गोलभेंडा यो वर्ष एक सय ४० रुपैयाँमा पुगेको छ। कालिमाटी बजारमा भने प्रतिकिलो एक सय पाँच रुपैयाँमा कारोबार भएको छ। कालिमाटी बजारमा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काउली बाहिरी बजारमा एक सय ३० मा बिक्री हुन्छ।  

यस्तै ७५ रुपैयाँ पर्ने बोडी खुद्रा पसलमा एक सय १५ रुपैयाँमा बिक्री भइरहेको छ। ८५ रुपैयाँ प्रतिकिलो कायम भएको घिउसिमी बाहिरी बजारमा एक सय २० रुपैयाँमा बिक्री गरिएको छ। यस्तै ८५ रुपैयाँकै करेला र परवरको बाहिरी बजारमा एक सय ३० रुपैयाँसम्म खुद्रा व्यापारीले मूल्य असुल गरेका छन्।

आमउपभोक्ताले अत्यधिक रुचाउने रायो साग र चम्सुर साग भने छुनै नहुने गरी उच्च मूल्य वृद्धि भएको छ। कालिमाटी बजारमा ती दुवै सागको खुद्रा मूल्य एक सय पाँच रुपैयाँ कायम भएको छ। तर बाहिरी बजारमा ती दुवै साग एक सय ४० देखि एक सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।  

गत वर्ष यही समयमा काउली र बोडी ४५ रुपैयाँमा बिक्री भएको थियो। यस्तै घिउसिमी, करेला र परवर ५५ रुपैयाँमा बिक्री भएको थियो। रायो साग ७५ र चम्सुर साग ९८ रुपैयाँमा बिक्री भएको थियो।

‘मागअनुसार तरकारी स्वदेशमै उत्पादन नहुनु र भारतबाट पनि पर्याप्त परिमाणमा आउन नसक्नुले मूल्य वृद्धि भएको छ’, नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरले भने, ‘गत वर्ष यही समयको तुलनामा यो वर्ष हरियो तरकारीको थोक मूल्यमै कम्तीमा ६० रुपैयाँ थपिएको छ।  ’

उनका अनुसार मागअनुसार तरकारी आपूर्ति नहुँदा आम उपभोक्ताले थेग्नै नसक्ने अवस्था भएको छ। कालिमाटी तरकारी बजारमा दैनिक साढे सात सय मेट्रिक टन तरकारीको माग छ। तर अहिले साढे पाँच सय मेट्रिक टनको हाराहारीमा मात्र आपूर्ति भइरहेको छ। यसमा पनि झण्डै ५० प्रतिशत आलु र प्याजकै हिस्सा छ। हरियो तरकारी ५० प्रतिशत मात्रै आपूर्ति भएको घिमिरेको भनाइ छ।  

परवल, भिण्डी, खुर्सानी, आलु, प्याज, बोडी, करेला, काउली, गोलभेडालगायत स्वदेशमै उत्पादन कम भएको र भारतबाट पनि अत्यन्तै थोरै परिमाणमा आपूर्ति भएको छ। तराईमा समेत चर्को गर्मीका कारण हरियो तरकारीको उत्पादन हुन सकेको छैन।

अहिले मुख्य गरी पालुङ, काभ्रे, धादिङ र भक्तपुरको तरकारीले राजधानीको बजार धानिरहेको घिमिरेले जानकारी दिए। जेठको अन्तिम सातादेखि तरकारीको नयाँ उत्पादन बजारमा प्रवेश गरेपछि तुलनात्मकरूपमा केही सस्तो हुने महासंघले जनाएको छ।