तीन सन्तान भएको पत्ता लागेपछि मेयर बर्खास्त

तीन सन्तान भएको पत्ता लागेपछि मेयर बर्खास्त

भारतको बिहारकी एकजना स्थानीय महिला नेतृ राखी गुप्ता चर्चामा आएकी छिन् । उनी बिहारको छपरा नगर निगमकी मेयर थिइन् । तर उनका तीनजना सन्तान भएको खुलासा भएसँगै मेयरको कुर्सी गुमेको छ ।

उनले निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा आफ्ना २ जनामात्रै सन्तान रहेको उल्लेख गरेकी थिइन् । तर उनको तेस्रो सन्तानपनि रहेको उजुरी परेपछि त्यसको छानबिन गर्ने क्रममा उनले मनोनयन पत्रमा आफ्नो तेस्रो सन्तानको विवरण लुकाएको पुष्टि भयो ।

अतः निर्वाचन कानुन अनुसार उनलाई मेयर बन्न अयोग्य घोषित गरेसँगै उनको मेयर पद गुमेको हो । गत सन् २०२२ को डिसेम्बरमा छपरा नगर निगमबाट उनले मेयरको चुनाव जितेकी थिइन् ।

चुनावमा उम्मेदवारी दर्ता गर्ने क्रममा उनले मनोनयनपत्रमा आफ्ना २ जनामात्रै बच्चा रहेको उल्लेख गरिन् । तर उनीविरुद्ध सोही नगर निगमकी पूर्व मेयर सुनिता देवीले उजुरी दिएपछि स्थानीय घटनादर्ता कार्यालयबाट मगाइएको कागजातमा भने उनको तेस्रो सन्तान पनि रहेको पुष्टि भयो । जुन विवरण उनले निर्वाचन कार्यालयमा लुकाएकी थिइन् ।

अन्ततः निर्वाचन आयोगले पाँच महिनाको सुनुवाई पश्चात् गतहप्ता फैसला गर्दै बिहार नगरपालिका अधिनियम २००७ अनुसार राखीलाई मेयर पदका लागि अयोग्य ठहर गरेको हो । उक्त कानूनको धारा १८(१० ९एम० अनुसार सन् २००८ को अप्रिल ४ यता यदि कोही मानिसले तेस्रो सन्तान जन्माएको भएमा ऊ नगरपालिका निर्वाचनमा कुनै पनि पदमा चुनाव लड्न अयोग्य बन्दछ ।

साथै उक्त कानूनमा प्रष्ट रुपमा केही भनिएको छ भने यदि दुईभन्दा बढी सन्तान भएका दम्पतीले आफ्ना बच्चा अरुलाई धर्मसन्तानको रुपमा दिए पनि जन्मदातालाई नै जैविक मातापिता मानिन्छ । अर्थात् बच्चा कानूनी रुपमा अरुलाई दिए पनि तीनभन्दा बढी सन्तान जन्माउने महिला तथा पुरुषहरू चुनाव लड्न अयोग्य हुनेछन् । तर एकैपटकमा जुम्ल्याहा वा त्यसभन्दा धेरै सन्तान जन्मिएको हकमा चाहिँ नियम खुकुलो पारिएको छ ।

उता बर्खास्तगीमा परेकी मेयर राखी गुप्ताले भने आफ्नो तेस्रो बच्चा आफुले एक निसन्तान नातेदारालई लिखित रुपमै धर्मसन्तानको रुपमा दिएको हुँदा कानुनीरुपमा आफ्ना दुई बच्चा मात्र रहेको र निर्वाचन आयोगको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने जनाएकी छिन् ।