डडेल्धुरामा तयार भयो ट्रायल सेन्टर, जेठदेखि लाइसेन्स वितरण

डडेल्धुरामा तयार भयो ट्रायल सेन्टर, जेठदेखि लाइसेन्स वितरण

डडेल्धुरा : डडेल्धुरामा ट्रायल सेन्टर तयार भएको छ । जेठबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी गरिएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सकिने भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने भएको छ ।

डडेल्धुरामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालये जिल्लामै सवारी लाइसेन्सको परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गर्ने भएपछि ७ वटै पहाडी जिल्लाका नागरिकहरुलाई सहज हुने यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराले जनाएको छ ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लाका नागरिकले तराईका जिल्ला कैलाली र कञ्चनपुर गएर नयाँ सवारी चालक अनुमति पत्र निकाल्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ । यसभन्दा अगाडि सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लुबुक) नविकरण सेवा, सवारी जाँचपास सेवा सुरु गरेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयले बताएको छ ।

अब निर्माण भएको ट्रायल सेन्टर भाडामा लिई लाइसेन्स वितरण गर्ने तयारी थालेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख दिलीप लामाङले जानकारी दिनु भएको छ । करिब ५ महिना अघिबाट निमार्ण कार्य थालीएको उग्रतारा ड्राइबीङ एण्ड ट्रेनिङ सेन्टरमा १ करोडको लगानी रहेको सेन्टरका सन्चालक तेजबहादुर ऐरले बताउनुभयो । 

डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र निस्किने भएपछि पहाडी जिल्लावासीलाई सहजतासँगै यहाँको व्यापार व्यवसाय समेत फस्टाउने अमरगढी नगरपालिकाका नगर प्रमख विशेश्वरप्रसाद ओझाले बताउनुभयो । अहिले डडेल्धुरा बाहेकका सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामवासीले नयाँ सवारी चालक अनुमति पत्र लिन तराई र्झनुपर्ने बाध्यता रहेको छ ।