बङ्गलादेशलाई पेनाल्टी शुट आउटमा हराउँदै उपाधि नेपाललाई

बङ्गलादेशलाई पेनाल्टी शुट आउटमा हराउँदै उपाधि नेपाललाई

काठमाण्डौ । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाको उपाधि जितेको छ ।

आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

नेपालको जितमा वैकल्पिक गोलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अञ्जना खेलको ९० औँ मिनेटमा एन्जिला तुम्बापो सुब्बाको ठाउँमा मैदान छिरेकी थिइन् । अञ्जनाले पेनाल्टी शुटआउटमा बङ्गलादेशकी शेउली अजीम र मारिया मान्डाको प्रहार रोकिन् । यद्यपि उनले पेनाल्टी शुटआउटमा गोल गर्न सकिनन् । नेपालका लागि सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही रअनिता केसीले गोल गरे ।

यसअघि गएको बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।

योसँगै नेपालले गएको वर्ष काठमाण्डौमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारेको बदला लिएको छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो ।