भारतमाथि बङ्गलादेशको महिला क्रिकेट टोलीको कीर्तिमानी जित

भारतमाथि बङ्गलादेशको महिला क्रिकेट टोलीको कीर्तिमानी जित

काठमाण्डौ । बङ्गलादेशको महिला टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ९ओडीआई० मा भारतमाथि कीर्तिमानी जित निकालेको छ ।

घरेलु मैदान मिरपुरमा भएको पहिलो एकदिवसीय क्रिकेटमा बङ्गलादेशले भारतलाई डीएलएस मेथडमा ४० रनले हरायो । बङ्गलादेशको महिला टिमले भारतलाई एकदिवसीय क्रिकेटमा पहिलो पटक हराएको हो ।

बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर ३ बलमा १ सय १३ रनमा अलआउट भयो । भारतकी दिप्ती शर्माले सर्वाधिक २० रन बनाइन् । यस्तै यास्तिका भाटिया र अमनजोत कौरले समान १५ रन बनाए । बलिङतर्फ बङ्गलादेशकी मरुफा अख्तेरले ४ र रबिया खानले ३ विकेट लिइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेश ४३ ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट भयो । बङ्गलादेशका लागि निगर सुल्तानाले ३९ र फरगना हकले २७ रन बनाइन् । बलिङतर्फ भारतकी अमनजोत कौरले ३ विकेट लिइन् ।

वर्षाका कारण झन्डै एक घण्टा खेल रोकिएपछि खेल ४४ ओभरमा झारिएको थियो ।

यो जितसँगै बङ्गलादेशले ३ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।