आजभोलि खेतमा असारे गीत बज्दैनन्, टिकटक बन्छ

आजभोलि खेतमा असारे गीत बज्दैनन्, टिकटक बन्छ

टीकापुर  । विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ । 

‘रोपरोप रोपन्यारी, हातको बीउ छँदै

काइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’

‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकी 

मै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’

यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो । आजभोलि खेतमा गीत गाउँदै रोपाइँ गर्ने चलन हराएको टीकापुरकी मोतीकला परियारले बताए । “यस्ता भाका विगतमा गाउँघरमा हुने रोपाइँमा सुन्न पाइन्थे । आजभोलि खेतबारीमा काम गर्दा यस्ता गीत सुन्न निकै कम पाइन्छ”, उनले भने, “यस वर्ष गीत नगाएरै रोपाइँ सकियो । हामीले एक साताअघि रोपाइँ सकेका हौँ ।”

हिजोआज पहिलाको जस्तो रोपाइँमा गीत गाउने, अर्मपर्म गर्ने चलन नभएको देख्दा पहिलाको रोपाइँ धेरै सम्झना आउने मोतीकलाले बताए । उनले असारे गीत र भाका लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।  “असारे गीत धेरै लोप भएर गए । यी गीतसँग हाम्रो संस्कृति, परम्परा र चालचलन जोडिएको छ”, उनले भने, “रोपाइँका क्रममा खेतमा गीत सुन्दै, गाउँदै रमाइलो गरिन्थ्यो । कहिले घाम र पानीका बीच कडा श्रम गर्दा पनि गाउँदै, हिलो खेल्दै रोप्दा दिन बितेको पत्तै हुँदैनथ्यो ।”

कैलालीका कल्धरादेवी विकले आजभोलि विगतका जस्तो रोपाइँ रमाइलो नहुने बताए । पहिले जेठानी, देउरानी, छिमेकी र साथीसङ्गी मिलेर रमाइलो गर्दै गरिने खेती आजभोलि नहुने उनको भनाइ थियो । “रोपाइँमा बाउसेले गाउने गीत अलग हुन्छन्, रोपाइँ गर्ने महिलाले गाउने गीत फरक हुन्छन्”, उनले भने, “बाउसे हुन्थे आजभोलि बाउसे अर्थात् खेलका आली बनाउने, खेतका कुनाकानी खन्ने पुरुषको काम छैन । हलो जोतेको देख्न मुश्किलले पाइन्छ । सबैतिर पावर टिलर तथा ट्र्याक्टरले खेत जोतेको देखिन्छ ।”

विगतमा गीत गाउँदै रोपाइँ गर्नेको अभ्यास आजभोलि फेरिएको स्थानीय राधा शर्माले बताए । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै रोपाइँ गर्दासमेत टिकटक बनाइरहेका धेरै देखिने उहाँको भनाइ थियो । “अचेल रोपाइँ गर्ने तरिका बदलिँदै गएको छ । खेताला जम्मा भएर रोपाइँ गर्ने चलन कम हुँदै मेसिनले खेत रोप्ने चलन बढिरहेको छ”, किसान शर्माले भने, “पहिला बिहान ४ बजेदेखि खेतमा पस्थ्यौँ, बाउसेले गाउने गीत फरक हुन्थे, महिलाले गाउने गीत फरक हुन्थ्ये । गीतमार्फत दोहोरी हुन्थ्यो । असारे गीतमा भएका संस्कृति हराउन थालेका छन् ।”

विगतमा रमाइलो गर्दै खेतमा श्रम गर्ने परम्परा आजभोलि असारे गीतसँगै लोप हुन थालेका स्थानीय बताउँछन् । कृषिमा नयाँ प्रविधि भित्रिएकाले जनश्रमको गर्नेको सङ्ख्या कम भए पनि रोपाइँ सहजै सकिने कैलालीकी रीता धामीले बताए। उहाँका अनुसार खेती गर्न विभिन्न मेसिनरी सामानले समय बचत हुने गरेको छ भने रोपाइँ गर्दा सामाजिक सञ्जालमा रमाइलो गर्नेहरु बढेका छन् । 

आजभोलि महिला टिकटक बनाउने, भिडियो बनाउनेजस्ता कार्य गरेर रमाइलो गर्ने गरेका धामीले बताए । “हामीलाई देउडा गाउन आउँदैन, हामीले यस वर्ष रोपाइँ गर्दा टिकटक धेरै बनायौँ’’, उनले भने, “टिकटक बनायौँ, विभिन्नखाले भिडियो बनाएर युट्युबमा राख्यौँ, त्यसमा पनि रमाइलो छ ।”

मानिसले समयअनुसार रमाइलो गर्न जान्नुपर्ने रिताको भनाइ थियो । उहाँसँगै साथीहरुले रोपाइँको एक महिना खेतमै काम गर्दै टिकटक बनाएर बिताए । “हामीले सबै कामलाई प्रविधिमा जोड्यौँ, रमाइलो गर्दै टिकटक बनायौँ”, उनले भने, “गीत गाउन जानेका छैनौँ, नाचेर रमाइलो गर्दै खेतमा काम ग¥यौँ ।”

संस्कृतिप्रेमी तुलसी देवकोटाले खेती गर्ने अभ्यासमा समाजका संस्कृति र परम्परासमेत जोडिएकाले नयाँ प्रविधिको प्रयोगसँगै पुराना संस्कृति र परम्पराको संरक्षण गर्नु आवश्यक रहेको बताए । “नयाँ प्रविधि भित्रिनु नराम्रो होइन”, उनले भने, “हाम्रो संस्कृति र परम्परासँग जोडिएका कला, साहित्य र संस्कृति संरक्षण आवश्यक छ । टिकटक बनाउँदा पनि असारे देउडा गाएर बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।”