एमसीसी कार्यान्वयनको लागि अमेरिकी विदेश मन्त्रीको जोड

एमसीसी कार्यान्वयनको लागि अमेरिकी विदेश मन्त्रीको जोड

काठमाण्डौ । नेपाल भ्रमणमा आएका अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु ले एमसीसी कार्यान्वयनमा जोड दिनुभएको छ ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्तामा उहाँले एमसीसी कार्यान्वयनमा जोड दिएको हो ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ महिनापछि आउँदो भदौ दोस्रो हप्तादेखि कार्यान्वयनको तयारीमा रहेको छ । एमसीसी परियोजना कार्यान्वयनमा जाने पूर्वसन्ध्यामा सहायकमन्त्री लु नेपाल आउनुभएको हो । यसअघि एमसीसी संसदबाट अनुमोदन हुनुअघि २०७८ मंसिरमा पनि लु नेपाल आउनुभएको थियो । त्यही वर्षको फागुन १५ गते एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको थियो ।

लुसँगको भेटमा सत्तारुढ शीर्ष नेताहरुले एमसीसी परियोजना छिट्टै कार्यान्वयनमा जाने आवश्वासन दिएका छन् । एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।