सुदूरपश्चिममा मूल्यवृद्धि आकासियो

सुदूरपश्चिममा मूल्यवृद्धि आकासियो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशलाई र स्थानीय सरकारले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य राखेपनि उक्त लक्ष्य पुरा हुन नसकेपछि मूल्यवृद्धि आकासिएको छ । ‘‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश’’ अभियान अन्तरगत भटमास, ओखर, सुन्तला, स्याउ, अदुवा, खाद्यान्न, बीउ, दूध, मासु र अण्डामा आत्मनिर्भर गराउन सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना थियो । तर योजना अनुसार काम हुन नसकेपछि त्यस्ता सामानको मूल्य बढेको हो ।

धनगढीमा अहिले ब्रोइलर कुखुराको मासु प्रति किलो ४६० रुपैयाँ पुगेको छ । लोकल कुखुराको मासु प्रति किलो ९५० रुपैयाँमा विक्री भइरहेको छ । जिउँदो लोकल कुखुरा ७५० रुपैयाँमा बिक्री भइरहेको छ । अण्डा एक क्यारेटको मूल्य ४४० रुपैयाँ छ । मसिनो चामल प्रति किलो ११०, मोटो चामल प्रति किलो ८० रुपैयाँ पुगेको छ । दूधको मूल्य प्रति लिटर ९० रुपैयाँ पुगेको छ । यो मूल्य दर हालसम्मकै उच्च हो । खसीको मासु एक हजार २५०, बंगुरको मासु ४२०, माछा ४४० रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसंख्या छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष दूध ९१ लिटर, माछा तथा मासु १४ किलो र अण्डा ४८ गोटा आवश्यक पर्छ । तर प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष दूध ८१ लिटर, माछा तथा मासु ११ किलो र अण्डा २२ गोटा मात्रै उत्पादन हुने गरेको छ । सुदूरपश्चिम प्रदेशमा गाई र भैंसीबाट वार्षिक सरदर दुई लाख ४४ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा बोइलर, लेयर्स, लोकल कुखुरा, हाँस र अन्य जातका गरी पोल्ट्रीमा ३१ लाख ११ हजार विभिन्न जातका अण्डा दिने पन्छीको उत्पादन भइरहेको छ । बोइलरबाट एक लाख ६४ हजार, लोकल कुखुराबाट एक लाख ९८ हजार र अन्य जातका पोथीबाट १७ हजार गरी तीन लाख ७९ हजार अण्डा वार्षिक रुपमा उत्पादन हुने गरेको छ । हाँसका अण्डा वार्षिक पाँच हजार चार सय रुपैयाँ रहेको छ । प्रदेशमा भैसी, खसी, कुखुराको मासु ३१ हजार ९० किलो उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा भेडा ९९ हजार, बाख्रा १० लाख ७३ हजार, बंगुर पाँच लाख ७६ हजार, कुखुरा २९ लाख ८३ हजार, हाँस एक लाख २८ हजार, चौरी गाई एक हजार तीन र गधा पाँच हजार पाँच सय पालिएको छ । प्रदेशमा सामानको मूल्य बढ्नुका साथै माग बढ्े पनि व्यापार घट्दो क्रममा छ । आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा थोक तथा खुद्रा व्यापारको २.९१ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । यो दर अघिल्लो वर्ष ७.३९ प्रतिशत थियो । कृषि क्षेत्रको वृद्धिदर समेत घट्दै गएको छ ।

२०७६/७७ देखि २०७८/७९ सम्म कृषि क्षेत्रको वृद्धिदर क्रमशः ४.५८, ३, २.०१ थियो । निरन्तर ओरालोमा रहेको कृषि क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमा १.६७ प्रतिशत हुने अनुमान गरिएको छ । गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहेने अनुमान गरिएको छ । प्राथमिक क्षेत्रको वृद्धिदर १.६६ र सेवा क्षेत्रको वृद्धिदर ३.२४ प्रतिशतले धनात्मक रहेको छ । गत आर्थिक वर्षमा प्राथमिक क्षेत्रको वृद्धिदर २.०६ र सेवा क्षेत्रको वृद्धिदर ५.४६ थियो । कृषि क्षेत्रको उत्पादन स्थिर रहँदा माग बढ्दै गएकोले मूल्य वृद्धिको श्रृखला निरन्तर उकालोमा रहेको विज्ञहरु बताउँछन् ।