स्ट्रेचर नहुँदा ३ घण्टा डोकोमा बोकेर स्वास्थ्य संस्था

स्ट्रेचर नहुँदा ३ घण्टा डोकोमा बोकेर स्वास्थ्य संस्था

बैतडी  : जिल्लाको शिवनाथ गाउँपालिका–४ खडीक कोलेउडाकी ४८ वर्षीय सुर्मा कोलीको एक हप्ता अगाडी एक्कासी पेट दुख्यो । स्वास्थ्य संस्थामा पुर्‍याउने स्ट्रेचर नहुँदा आफन्तले स्थानीय उदयदेव स्वास्थ्यचौकीमा कार्यरत हेल्थ असिस्टेन्टलाई घरमै बोलाएर लगे। 

घरमै उपाचार सम्भव नभएपछि सुर्मालाई स्वास्थ्यचौकी लैजान स्वास्थ्यकर्मीले सुझाए । त्यसपछि बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन निकै धौ–धौ पर्‍यो । स्ट्रेचर नहुँदा आफन्तले सुर्मालाई डोकोमा बोकेर स्वास्थ्यचौकी पुर्‍याए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उकालो बाटोमा ३ घण्टा बोकेर सडकसम्म पुर्‍याइयो । त्यसपछि मात्रै उनलाई गाडीमा राखेर उपचारका लागि डडेल्धुरा लगियो । 

वैशाख १ गते सुत्केरी व्याथा लागेकी दुर्मा साउँदलाई पनि आफन्तले डोकोमै बोकेर स्वास्थ्य संस्था पुर्‍याए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई पनि सडकसम्म डोकोमै बोकेर लानु पर्‍यो । गाउँका स्वास्थ्यसंस्था र महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग स्ट्रेचर नहुँदा स्थानीयले झेलिरहेका यी दुई उदाहरण मात्रै हुन् । 

दुगर्म गाउँमा स्ट्रेचरसमेत नहुँदा नागरिकले सास्ती भोगिरहेका छन् । ‘तीनचार बर्षअघि किनेका स्ट्रेचर सबै काम नलाग्ने भएका छन् । स्वास्थ्य संस्थामा पनि स्ट्रेचर छैनन् । महिला स्वास्थ्य स्वयंसेविकासँग पनि स्ट्रेचर छैन् । स्ट्रेचर नहुँदा धेरै समस्या हुने गरेको छ ।  

उदयदेव स्वास्थ्यचौकी इन्चार्ज नरेन्द्र महताले स्ट्रेचर नभएको कुरा गाउँपालिकालाई असोजमै जानकारी गराएको भएपनि अझै नआएको बताए । ‘गाउँबाट सडकमा पुग्न ३ घण्टा लाग्छ । स्टे«चर नहुँदा बिरामीलाई डोकोमै बोकेर सडक सम्म पुर्‍याउनुपर्ने बाध्यता छ ।’ स्वास्थ्यचौकी इन्चार्ज  महतोले भने ।  

डडेल्धुराबाट शर्माली जोड्ने सडक पनि राडील भन्नेठाउँमा अवरुद्ध यसले झन् समस्या भएको छ ।’शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले स्ट्रेचर खरीद प्रक्रिया सुरु भइसकेको बताए । अबको ३–४ दिनभित्रै स्वास्थ्य संस्था र प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर वितरण गर्ने उनले दाबी गरे