सुदूरपश्चिमका  यु–१६ विजेता खेलाडीहरू सम्मानित

सुदूरपश्चिमका  यु–१६ विजेता खेलाडीहरू सम्मानित

धनगढी । अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरूलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सम्मान गरेका छन् ।

धनगढी क्रिकेट एकेडेमीमा आयोजित एक कार्यक्रममा हमालले नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन जना खेलाडीहरू विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई हिजो (सोमबार) एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।

घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रो पटक यु–१६ इस्ट जोनको उपाधि जितेको थियो । उक्त उपाधि जित्दा धनगढी क्रिकेट एकेडेमीकै नरेन भट्टले फाइनलमा शतक प्रहार गरेका थिए ।

यस्तै विकेटकिपर ब्याट्सम्यान आशिष पनि धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् । अशोक बझाङका हुन् । एकेडेमीले सम्मान गर्दै उनीहरूलाई निःशुल्क प्रशिक्षण गराउने समेत घोषणा गरेको छ ।

तीन जनै खेलाडीलाई सम्मान गर्दै मेयर हमालले खेलाडीहरूलाई बधाई दिँदै ग्रास रुटको विकासमा धनगढी उपमहानगरपालिकाले लगानी गर्ने बताए ।