प्रदेश सरकारका गृहमन्त्रीद्वारा कञ्चनपुरवासीलाई संयमित हुन आग्रह

प्रदेश सरकारका गृहमन्त्रीद्वारा कञ्चनपुरवासीलाई संयमित हुन आग्रह

धनगढीः ७ नम्बर प्रदेश सरकारका गृह मन्त्री प्रकाश बहादुर शाहले कञ्चनपुरमा विकसित पछिल्लो असहज अवस्थामा सबै पक्षलाई संयम हुन आग्रह गरेका छन।

मंगलबारदेखि महेन्द्रनगर अशान्त हुँदै गएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्री शाहले प्रदेश सरकारले प्रधानमन्त्री र गृहमन्त्रीसँग विशेष समन्वय गरिरहेको बताए।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले बिहीबार मन्त्रिपरिषद्को बैठकमा कञ्चनपुरको पछिल्लो अवस्थाका बारेमा गम्भीर छलफल भएको बताए।

कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको प्रदेश सरकार प्रष्ट रहेको बताएका छन्। उनले विशेष छानबिनका लागि उच्च स्तरीय छानबिन समिति गठन गरी पीडितलाई न्याय दिलाउन प्रदेश सरकार प्रयन्तरत रहेको बताएका छन्। 

‘महेन्द्रनगरको पछिल्लो अवस्थाका बारेमा हामी निक्कै संवेदनशील छौँ’, मन्त्री शाहले भने, ‘पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई अवगत गराउँदै पीडितलाई न्याय दिलाउन उच्च स्तरीय छानबिन समिति गठन गर्न आग्रह गरेका छौँ। यस घडीमा स्थानीयलाई संयमित हुन प्रदेश सरकार विशेष आग्रह गर्दछ।’ 

मन्त्रिपरिषद्को बैठक लगत्तै कञ्चनपुरको पछिल्लो परिस्थिती लगायत प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेश सुरक्षा समितिको बैठक बसिरहेको छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन जारी राखेका छन्।