सुदूरका महिला, सुदूरको देश !

सुदूरका महिला, सुदूरको देश !

नेपालमा संघीयता कार्यान्वयनको अवस्थाबारे अनुसन्धान र २०७९ सालको आम निर्वाचनको पर्यवेक्षणको लागि सुदूरपश्चिम प्रदेश जाने मौका पाएँ। अनुसन्धानकर्तामा छनोट भएको खबर आमालाई सुनाएँ। उहाँले अचम्तित हुँदै भन्नुभयो, ‘सुदूरपश्चिम पो!’ 

सुदूरपश्चिम नाम सुन्ने वित्तिकै उहाँको निधारमा चिन्ताको रेखी कोरिएको थियो। सामान्य परिवार भए पनि राजधानीमा हुर्किएकी म सुदूरपश्चिम जान लाग्दा गाँउमा गएर छोरीले दुःख पाउँछे भनेर आमालाई चिन्ता लाग्नु स्वभाविक थियो। मैले आमालाई सम्झाएँ।

तर जहाजले काठमाडौं उपत्यकाको आकाश छुँदा मेरो मन पनि पिरोलिँदै थियो। होस सम्हालेदेखि नै सुदूरपश्चिम र कर्णाली भनेको विकास नभएको विकट ठाँउ भनेर पढेकी थिएँ। जहाज पश्चिम लागेपछि उत्तरतिर टलक्क हिमाल देखिएको थियो। लगभग सवा घण्टा आकाशमा बिताउँदा मेरो मानसपटलमा सुुदूरपश्चिमका बारेमा पहिला सुनेका कुरा खेलिरहेका थिए। छाउपडी प्रथा, टिकापुर घटना, निर्मला पन्त, बलात्कार र घनघस्याको उकालो यस्तै यस्तै। 

मेरो मस्तिस्कमा सुदूरपश्चिमको सुदूर चित्र बनिरहेको थियो। धनगढी विमानस्थलमा जहाज ओर्लिएर बाहिरको दृष्यले भने मेरो मस्तिस्कको चित्रलाइ उल्टो फर्काएदियो। जहाज भित्रैबाट विमानस्थलमा दुईवटा अरु जहाज पार्किङजस्तै अवस्थामा देखिए। धनगढी विमानस्थलमा अर्को विमान पनि एउटै समयमा होला भन्ने त मैले त कल्पना पनि गरेकी थिइनँ। विमानस्थलबाट बाहिर निस्किँदा सुदूरपश्चिममा तपाईँलाई स्वागत छ भनेर लेखिएको होर्डिङ बोर्डले न्यानो स्वागत गर्यो। 

झण्डै ३८ डिग्रीभन्दा माथिको तापक्रमले चिटचिट पसिना निकाल्यो। एयरपोर्ट बाहिर ट्याक्सीहरूको लाम देख्दा दिमागमा पहिलो कुरा आयो, ‘ओहो ट्याक्सी पनि पाइँदो रहेछ।’ 

ट्याक्सी चढेर धनगढी सहर डुलेँ। ६ लेनको व्यवस्थित सडक देखेर छक्कै परेँ। सुरुमा विमानस्थल, त्यसपछि बाहिर ट्याक्सीको लाम अनि अब यो व्यवस्थित सडक देखेर मलाई सुदूरगाँउमा आएको महसुस नै भएन। 

तुरुन्तै मोबाइल भिकेर आमालाई भिडियो कल गरेँ। उहाँलाई आफू पुगेको जानकारी गराउँदै क्यामेरा सडकतर्फ तेस्र्याइदिएँ। गाँउमा गएकी छोरी कस्तो ठाँउमा पुगी भनेर चिन्तित भइरहेकी बमा दंग पर्नुभयो। ‘ए नानी, तँ सुदूरपश्चिम नै गएकी होस् की अरु कतै,’ आमाले भन्नुभयो। सडक देखेर उहाँलाई म अरु नै ठाँउ पो गएँ भन्ने लागेछ। 

मैले पुगेकै दिनदेखि काम सुरु गर्नुपर्ने थियो। 

बसोबास, कार्यालय व्यवस्थापन र अरु समन्वयको काम गरेर शरीर आलश्य भइसकेको थियो। त्यसैले होटेलमा पुगेर आराम गर्दा मनमा पहिलो कुरा आयो। सुूुरपश्चिम मैले सोचे जस्तो चाहिँ रहेनछ। काठमाडौंबाट मैले दिमागमा बनाएको चित्रभन्दा एकदमै फरक। अझ भन्नुपर्दा मलाइ राजधानी बाहिरको गाँउ आएको महसुस नै भएन।

हुन त धनगढी पनि प्रदेशको राजधानी नै थियो। त्यसैले अरु ठाँउ यस्तो नहुन पनि सक्छ भन्ने मनमा लागिरहेको थियो। आमालाई फेरि फोन गरेर बसोबासको व्यवस्था र दिनभरिको बेलीबिस्तर लगाएँ। दिउसो धनगढीको बजार र सडक अनि साँझ राम्रै होटेलमा बसेको देखेपछि  उहाँ पनि ढुक्क हुनुभयो। आमाको अनुहारबाट चिन्ताको डोब हटेको देखेपछि म फुरुङ्ग भएर निदाएँ। 

मैले ६ महिना यो ठाँउमा बस्नु थियो।

भोलिपल्टदेखि नै म काममा खटिएँ। तराईका कैलाली र कञ्चनपुरका गाँउगाँउ मात्र होइन सुदूरपश्चिमका पहाडी जिल्लाका दुरदराजका गाँउगाँउ सम्म पनि पुगेर त्यहाँका विभिन्न तहका मानिससँग अन्तरक्रिया, छलफल कुराकानी गर्ने अवसर पाएँ। 

संघीयता कार्यान्वयको अवस्था र  आउँदै गरेको निर्वाचनको विषयमा मानिसहरूको चासोको विषयमा कुराकानी र बुझ्ने अवसर त छँदै थियो। व्यक्तिगत रुपमा मैले पनि सुुदूरको जिवनलाई अध्ययन गर्ने मौका पाइरहेकी थिएँ।

डडेल्धुरा, अछाम, डोटी, बैतडी दार्चुलाका सदरमुकामसम्मै पक्की बाटो, राम्रै व्यवस्था भएका होटल अनि यातायातको साधन पनि सजिलै पाइने, भौतिक पूर्वाधारको विकास सुदूरपश्चिममा सुरु भइसकेको रहेछ। सदरमुकाम मात्र नभई कतिपय गाँउहरुमा पनि पक्की बाटोले सदरमुकामसम्मको पहुँचलाई सहज बनाएको थियो। 

यद्यपि राम्रा स्कुल कलेजहरू पहाडी जिल्लामा भेटिएनन्। अस्पतालको अवस्था त सुगम मानिने तराईका कैलाली कञ्चनपुरमा पनि खासै गतिलो छैन भनेर मानिसहरुले भन्थे। कतिपय ठाँउमा आफैँ अवलोकनमा जाँदा पनि शिक्षा र स्वास्थय सेवाको विकास हुन नसकेको  भान भयो।

सडक र शहरीकरणको लागि भौतिक संरचनमा मैले सोचेको र पढेको भन्दा विकास भए पनि शिक्षा र स्वास्थ्य जस्ता मानकहरूका आधारमा धेरै समस्या प्रत्यक्ष देखेँ। विशेषगरी महिला, दलित, अल्पसंख्यकहरुको जीवनस्तरमा सुदूरमा भएको भौतिक विकासले खासै असर पारेको देखिएन। 

महिलाहरुको अवस्था भने खासै सुधार भएको देखिएन। पहाडी क्षेत्रमा घाँस दाउरा, पानी पँधेरोमा नै महिलाहरूको आधा जीवन बित्दो रहेछ। परिवारका पुरुषहरू प्रायः कामको लागि भारत जाने भएकोले घरको सम्पूर्ण जिम्मेवारी महिलाहरूले नै निर्वाह गरिरहेका छन्।

यद्यपि कसैको घरमा घरमूली को हुनुहुन्छ भनेर सोध्यो भने वहाँ त इन्डीया झर्नु भा छ भन्थे। अर्थात, घरको सम्पूर्ण जिम्मेवारी निर्वाह गरे पनि महिला भएकै कारणले उनीहरूलाई घरको मूली मानिदैन्थ्यो। सरकारी विद्यालयमा छोरीहरूको उपस्थिति राम्र्रै देखिन्थ्यो। तर धेरैको १० कक्षा पास नहुँदै विहे भइहाल्ने रहेछ। 

निर्वाचनको समय भएकाले आम महिलाको एजेन्डाको कुरा पनि गरियो। तर आम महिलाले आफ्नो ठोस एजेन्डा भन्न सकेनन्। खासमा शिक्षा, स्वास्थ्य र रोजगार जस्ता कुरामा उनीहरूको समान पहुँच र अवसरमा उनीहरू पछि परेका थिए। हामीले जनप्रतिनिधि र निर्वाचनमा उम्मेदवार भएका दलका नेताहृसँग पनि महिला, दलित अल्पसंख्यकहरूको विषयमा एजेन्डा सोध्यौँ।

तर कुनै पनि दलका उम्मेदवारले महिलाको, दलितको, अल्पसंख्यककोे ठोस एजेन्डा भन्न सकेनन्। उम्मेदवारहरूले आफ्नो पार्टीले समग्र देशको लागि बनाएको घोषणापत्रमा सबै समेटिएको जवाफ दिए। दलहरूले देशकै लागि भनेर बनाएका ती घोषणापत्रमा सुदूरकी एउटी आमाले एक्लै घर कुर्नु परेको अटाएको थिएन। 

आफ्नै ठाँउमा रोजगारी नपाएर भारतको गल्लीमा चौकीदारी गररहेको छोरोको लागि ठोस एजेण्डा र योजना थिएन। अझै सबैभन्दा महत्वपूर्ण कुरा प्रतिनिधित्वको थियो। संघीय संसदको लागि १६ सिट भएको सुदूरपश्चिममा दलहरूले निकै थोरै महिलालाई उम्मेदवार बनाएका थिए। 

सुदूरको अवस्था यसरी हेर्दै गर्दा निर्वाचन सकियो। निर्वाचन लगत्तै म काठमाडौं फर्किनुपर्ने थियो। 

धनगडी विमानस्थलमा विमान चढने बेला निर्वाचनको परिणाम आइसकेको थियो। सुदूरपश्चिमबाट १६ जना संघीय संसदको लागि भएको निर्वाचनमध्ये एक जना मात्र महिला निर्वाचित हुनु भएको थियो। 

विमान आकाशमा उडन थालेपछि फेरि पुरानै कुरा मनमा खेल्न थाले। साँच्चै सुदूरपश्चिम मैले सुरुमा आउँदा सोचे जस्तै हो त्? काठमाडौं विमानस्थलमा ओर्लिनुअघि एयर ट्राफिकका कारण जहाज ३० मिनेट जति आकाशमै घुमिरह्यो। आकाश हेर्दै गर्दा मनमा कुरा खेल्यो, ‘महिलालाई आधा आकाश ढाक्ने भनिन्थ्यो। तर आकाश त पुरै पुरुषले मात्र होल्ड गरेका रहेछन्।’ 

१६ जना संसदमा पुग्दा सुदूरबाट १ जना मात्र महिला? ओहो! सुदूर त महिलाका लागि साँच्चै सुदूर रहेछ। एटीसीको निर्देशन पाएरै होला, जहाज त्रिभुवन बिमानस्थलमा ओर्लियो। जहाज बाहिरको तापक्रम निकै चिसो थियो। जहाजमा हुदाँ सुुदूरका महिलाहरूको बारेमा सोचेर मन चिसो भएको थियो। बाहिरको चिसोले हात खुट्टा र नाक पनि चिसो भयो। विमानस्थलबाट घर जान ट्याक्सी चढेर मोबाइलमा समाचार हेर्दाहेर्दा विरक्त लाग्यो। 

समाचार र सामाजिक सञ्जालमा निर्वाचनको अन्तिम परिणामका समाचार आइरहेका थिए। १ सय ६५  निर्वाचन क्षेत्र मध्ये निर्वाचित हुने महिला जम्मा ९ मात्र्। त्रिभुवन विमानस्थलबाट बाहिर निस्केर आउँदै गर्दा सोचेँ, ‘मैले सुदूरको बारेमा गलत विश्लेषण गरिरहेकी रहेछु। महिलाको लागि सुदूरपश्चिम मात्र किन यो पूरै देश, समाज, सोच सबै सुदूर रहेछ।’ 

महिलाप्रतिको ब्यवहार र सोचको विषयमा मैले देशलाई नै सुदूर देखिरहेको कुरा अहिले राष्ट्र प्रमुख उपप्रमुखदेखि मन्त्रीमण्डलमा समेत देखिएको छ। 

                                                                                                           लेखक : मन्जिता परियार