रोचक आईपीएल फाइनल : मालिंगाले आस देखाएर निराश बनाए

रोचक आईपीएल फाइनल : मालिंगाले आस देखाएर निराश बनाए

इन्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गरी मुम्बई चौथो पटक आईपीएलको च्याम्पियन बन्न सफल भएको हो। 

हैदराबादमा भएको खेलमा मुम्बईले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । १५० रनको लक्ष्य पाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाई १४८ रन बनायो। 

अन्तिम ओभरमा जम्मा ९ रन चाहिएको थियो । श्रीलंकाका फास्ट बलर लासिथ मालिंगाले उत्कृष्ट बलिङ गरी मुम्बईलाई   जित दिलाए। 

चेन्नईका लागि ओपनर शेन वाटसनले  ८० रन बनाए पनि हारका कारण उनको सानदार इनिङ छायाँमा पर्‍यो । त्यसबाहेक डुप्लेसीले २६ र ब्राभोले १५ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर जोड्न सकेनन् । कप्तान धोनीले ८ बलको सामना गर्दा २ रन बनाएर आउट भए। 

मुम्बईका लागि जसप्रिट बुम्राह र राहुल चहरले उत्कृष्ट बलिङ गरे दुवैले ४ ओभरमा १४–१४ रन मात्रै दिए । बुम्राहले २ र चहरले १ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको मुम्मबईका लागि किरन पोलार्डले सर्वाधिक ४१ बनाए । क्वीन्टन डिकोकले २९ र इशान किसनले २३ रन, हार्दिक पाण्डेले १६ तथा रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए। 

मालिंगाले आस दिलाए, पछि निराश बनाए 

१५ ओभरको खेल सकिँदा चेन्नईको स्कोर ८८ रन थियो । ४ विकेट गुमेको थियो । खेल मुम्बईको कब्जामा थियो ।  उसलाई ३० बलमा ६२ रन चाहिएको अवस्थामा बलिङ गर्न आएका मालिंगाले २० रन दिएर चेन्नईलाई आस दिलाएका थिए । अन्तिम ओभरमा जम्मा ९ रन चाहिएको अवस्थामा फेरि मालिंगा बलिङ गर्न आए । क्रिजमा सेट ब्याट्सम्यान वाट्सन यथावत थिए । जित चेन्नई कै पक्षमा जाने सम्भावना नै वढि थियो। आफ्नो अघिल्लो ओभरमा धेरै रन दिएर खेलको दिशा बदलेका मालिंगाले रोक्न सक्लान् भन्ने अनुमान गर्न कठिन थियो । तर उनले कप्तान रोहित शर्माको विश्वास खेर जान दिएनन् । 

मालिंगाले बाउन्ड्री प्रहार गर्ने कुनै अवसर नै दिएनन् । वाटसन रन आउट भए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा उनले सार्दुल ठाकुरलाई एलबी डब्लू आउट गरी टोलीलाई १ रनको रोमाञ्चक जित दिलाए । मालिंगाकै ओभरमा धेरै रन जोडी खेलमा फर्किएको धानीको टोलीलाई मालिंगाले नै निराश बनाए ।

आईपीएलको इतिहासमा सबैभन्दा बढी विकेट लिने मालिंगा नै हुन । उनले १२२ खेल खेल्दा हालसम्म १७० विकेट लिएका छन् । उनले यस सिजनमा १२ खेलमा १६ विकेट लिए।