देशको अर्थतन्त्र डरलाग्दो अवस्थामा छः सांसद चौधरी

देशको अर्थतन्त्र डरलाग्दो अवस्थामा छः  सांसद चौधरी

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व सङ्कलनको अवस्था हेर्दा देशको अर्थतन्त्र डरलाग्दो रहेको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद चौधरीले असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुनु र सरकारको साधरण खर्च १० खर्ब रुपैयाँभन्दा बढी हुनु गम्भीर स्थिति भएको दाबी गरे । उनले सरकारले नै देशको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

उनले भने, ‘सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डरलाग्दो छ । असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै उठ्नु र साधारण खर्च नै १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति छ ।अहिले बैंकहरूसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा छ, न्यूनतम ९० प्रतिशत हुनुपर्छ । किन बैंकहरूले ऋण दिन सकिरहेका छैनन् रु बैंकहरूसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन ? के हो राष्ट्र बैंकको नीति ? यी विषयमा सरकारले सरोकारवाला निकायहरूलाई पनि बोलाएर छलफल गर्नुपर्छ ।’

सांसद चौधरीले राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भए पनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको उल्लेख गरे । चौधरीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउने, लगानीमा वृद्धि गर्ने र ुकस्ट अफ डुइङ बिजनेसु घटाउन विशेष ध्यान दिनुपर्ने बताए।