पेट्रोलियम पदार्थको भाउ यति धेरै सस्तियो, कुनमा कति मूल्य घट्यो ?

पेट्रोलियम पदार्थको भाउ यति धेरै सस्तियो, कुनमा कति मूल्य घट्यो ?

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको) को मूल्य घटेको जानकारी दिएको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा ७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा ६ रुपैयाँ र तेस्रो वर्गमा ५ रुपैयाँ घटेको छ । योसँगै अब पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा १ सय ६९ र तेस्रो वर्गका क्षेत्रमा १ सय ७० तोकिएको छ ।

यस्तै, पहिलो वर्गमा डिजेलको मूल्य प्रतिलिटर १ सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ४९ र तेस्रो वर्गमा १ सय ५० तोकिएको छ । मट्टितेलको मूल्य पनि पहिलो वर्गमा प्रतिलिटर १ सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ४९ रुपैयाँ र तेस्रो वर्गमा १ सय ५० रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललाई राखेको छ ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु १४ र अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।