मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र १४ भिड्ने

मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र १४ भिड्ने

धनगढी : धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भईरहेको मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १४ भिड्ने भएका छन् । वडा नम्बर १२ मा क्वाटरफाईनलसम्मका खेलपछि वडा नम्बर १८ मा भएको सेमिफाईनल खेलमा जित हात पार्दै दुवै वडठा उपाधिका लागि भिड्न लागेका हुन् । 

पृथ्वी युवा क्लबको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई २–१ ले हरायो । वडा नम्बर १४ का लागि हेम गोले र सुदिप चौधरीले गोल गरे । वडा नम्बर ७ का लागि रामसिंह रानाले एक गोल गरे । 

दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ विजयी भएको छ । वडा नम्बर १९ लाई ३–० ले हराउदै वडा नम्बर १२ फाईनल पुगेको हो । वडा नम्बर १२ लाई जिताउनका लागि सन्दिप गुरुङले दुई गोल गरे भने खेम चयडाले एक गोल गरे । 

गत वैशाख २० गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार सकिदैछ । सोमबार फाईनल भएर मेयर कप फुटबल प्रतियोगिता समापन हन लागेको हो । दिउसो साढे २ बजेदेखि मेयरको फाईनल सुरु हुनेछ । धनगढी उपमहानगरपालिका मेयर नृप ओडले मेयर कपको समापन गर्नु हुनेछ ।

प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उप विजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ । प्रतियोगितामा १९ वटै वडाका टीमहरुले भाग लिएका थिए ।