गत सिजनभन्दा राम्रो भयो : सन्दीप लामिछाने

गत सिजनभन्दा राम्रो भयो : सन्दीप लामिछाने

इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा सहभागिता जनाएर नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आइतबार स्वेदश फर्किएका छन् । 

दिल्ली क्यापिल्टसमा आबद्ध सन्दीपको टोलीको यात्रा तेस्रो हुँदै सकिएपछि आइतबार स्वदेश फर्किएका हुन् । ६ खेल खेल्ने अवसर पाएका लामिछानेले ८ विकेट लिएका थिए । 

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लामिछानेले गत सिजनभन्दा यो सिजन आईपीएलमा राम्रो प्रदर्शन गरेको बताए । टिमको प्रदर्शन र आफनो प्रदर्शनमा सन्तुष्ट रहेको बताएका लामिछानेले पाएको मौका सदुपयोग गर्न सफल भएको बताए । 

उनले भने, "गत सिजन टोली आउट भइसकेपछि खेल्न पाएको थियो । तर यस सिजन ६ खेल खेल्न पाए । खुसी लाग्यो । त्यहाँका स्थानीय खेलाडीलाई उछिन्दै खेल्न पाए । तर कतिपय अवस्थामा टोलीको निर्णय हुन्छ । कहिले खेल्न पाए । कहिले पाइन् । मभन्दा राम्रो खेलाडीले मभन्दा पनि राम्रो खेल खेले । तर आईपीएलको यो सिजन राम्रै भयो ।"

समग्रमा आईपीएलको प्रदर्शनमा सन्तुष्ट रहेका लामिछानेले दिल्लीले १६ खेल खेल्दा ६ खेलमा प्लेइङ-११ मा समावेश गरिएका थिए । सन्दीपले भने,‘सिक्ने क्रम कहिले सकिँदैन् । कहिले धेरै रन खाइन्छ । कहिले राम्रो गरिन्छ । तर आफूलाई प्रमाणित गरीरहेको छु ।"

विश्वका विभिन्न लिगमा आबद्ध भइसकेका सन्दीपले एकपछि अर्को खेलले खेलमा सुधार गरिरहेको बताए ।