यस वर्ष ६४ करोड रुपैयाँको कोदो आयात

यस वर्ष ६४ करोड रुपैयाँको  कोदो आयात

काठमाण्डौ । नेपाललाई कृषिप्रधान देश भनिए पनि कोदोसमेत विदेशबाट आयात हुँदै आएको छ  ।

चालु आर्थिक वर्षको १० महिनामै ६४ करोड रुपैयाँभन्दा धेरैको कोदो आयात भएको भन्सार विभागले जनाएको छ ।

गएको साउनदेखि जेठ महिनासम्म झण्डै दुई करोड किलो कोदो आयात गर्दा ६४ करोड ३७ लाख रुपैयाँ बाहरिएको छ । नेपालमा भारत, चीन, इन्डोनेसिया लगायतका देशबाट कोदो आयात हुन्छ । 

यो अंग्रेजी वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले कोदो वर्षको रूपमा मनाइरहेको छ ।

नेपालमा पनि दिवसका रुपमा विभिन्न कार्यक्रम भइरहेका छन । साथै, चालु आर्थिक वर्ष २०७९/८० लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने नेपाल सरकारले यसअघि निर्णय गरेको छ ।

तीन तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालित छ ।

कोदो नेपालको चौथो मुख्य बाली हो । यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।

कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो ।