रश्मिका मन्दानाले थालिन् ‘पुष्पा २’ को छायांकन

रश्मिका मन्दानाले थालिन् ‘पुष्पा २’ को छायांकन

काठमाडौं । फ्यान लामो समयदेखि ‘पुष्पा २’ रिलिजको प्रतीक्षामा छन् । यो बीचमा उनीहरुका लागि खुसीको खबर छ । अभिनेत्री रश्मिका मन्दानाले छायांकन थालेकी छन् । इन्स्टाग्राम स्टोरीमा फिल्मको सेटको भिडियो सेयर गर्दै उनले यस्तो जानकारी गराएकी हुन् ।

भिडियोमा ‘पुष्पा २’ को चम्किलो सेट देख्न सकिन्छ । ‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा स् द राइज’ को श्रृंखला हो, जसमा रश्मिकाले श्रीवल्लीको भूमिका निर्वाह गरेकी थिइन् । दोस्रो भागमा पनि उनी त्यही पात्रको भूमिकामा देखिनेछिन् ।

‘पुष्पा  द राइज’मा अल्लु अर्जुन मुख्य भूमिकामा थिए । उनीसँग रश्मिकाको जोडी रुचाइएको थियो । इन्स्टाग्राम स्टोरीमा सुटिङको भिडियो सेयर गर्दै रश्मिकाले लेखेकी छन्, ‘नाइट सुट’ । रश्मिकाले केही दिनअघि रणवीर कपुर स्टारर ‘एनिमल’ को सुटिङ पूरा गरिसकेकी छन् ।

‘पुष्पा २  द रुल’को कुरा गर्दा यो फिल्म स्न २०२४ को प्रारम्भमा प्रदर्शन हुने अपेक्षा छ । पहिलो श्रृंखला १७ डिसेम्बर २०२१ मा रिलिज भएको थियो र त्यसपछि यसले बक्स अफिसमा करिब ३०० करोड भारु कमाएको थियो । पुष्पा २ को बजेट ४०० करोड हुने जनाइएको छ ।

पहिलो भाग रिलिज हुनुअघि नै निर्देशक सुकुमारले फिल्मका केही दृश्य खिचेका थिए । पछि उनले कथामा केही परिवर्तन गरिएपछि अहिले सोही अनुसार ‘पुष्पा २’ को छायांकन भइरहेको छ ।