१९औँ एसियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी

१९औँ एसियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी

काठमाडौं। नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका २३३ नेपाली खेलाडीले चीनको हाङझाउ सहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औँ एसियाड सुरु हुँदैछ ।

कोभिड महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको १९ औँ एसियाड यस पटक भने निर्धारित समयमा नै हुने आशामा एसियाली राष्ट्रका खेलाडीहरू छन् । यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर चीनमा महामारी फैलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एसियाली खेलकुद प्रभावित हुन पुग्यो ।

हाङझाउ एसियाड आउन अब ८७ दिन मात्र बाँकी छ । आयोजना नजिकिँदै गर्दा नेपाली खेलाडीहरूले आफ्नो तयारी तीव्र बनाइरहेका छन् । यस पटक नेपालको तर्फबाट कुल ५० जना प्रशिक्षकको प्रशिक्षणमा २३३ खेलाडीहरू १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् ।

नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले आयोजना नजिकिँदै गर्दा खेलाडीको तयारीमा तीव्रता दिइएको बताए। भारोत्तोलनका लागि वैदेशिक प्रशिक्षणको योजनामा रहेको पनि उनको भनाइ छ ।

भारोत्तोलनका लागि नेपाली खेलाडी विशेष प्रशिक्षण गरिरहेका छन् । २९ खेलमध्ये गल्फ वैदेशिक प्रशिक्षणअन्तर्गत भारतको बैंग्लोरमा प्रशिक्षण गरिरहेको छ । अन्य केही खेल पनि वैदेशिक १९ औँ एसियाली खेलकुद सचिवालयका सचिव प्रचण्ड शर्माले आगामी साउन १ देखि असोज ३ गतेसम्म खेलाडीलाई क्लोज क्याम्पमा राख्ने जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विगतका प्रदर्शन र नतिजाका आधारमा तीन खेल तेक्वान्दो, कराते र बक्सिङलाई पहिलो प्राथमिकतामा राखेर तयारी गराइरहेको छ । एसियाली खेलकुदमा यी तीन खेलले नै नेपाललाई पदक दिलाउँदै आइरहेका छन् ।   

१६औँ एसियाडमा कांस्य पदक विजेतासमेत रहेका बक्सर दीपक महर्जनले नेपाली बक्सिङ टोलीले ढेड महिनादेखि राम्रो तयारी गरिरहेको बताए । भारतीय प्रशिक्षकको नेतृत्वमा खेलाडीहरूले प्रशिक्षण गरिरहेको तयारी प्रभावकारी भइरहेको उनको भनाइ छ ।

हाल नेपाली बक्सिङ प्रशिक्षण टोलीका सदस्यसमेत रहेका महर्जनले पदक सम्भावनाका हिसाबले सरकारले पहिलो प्राथमिकतामा राखेकाले आफूहरूले पनि सोही अनुरूप मेहनत गरिरहेको बताए । तथापि, आवश्यक डाइटमा भने पर्याप्त सहयोग नभएको प्रशिक्षक महर्जनको गुनासो छ ।

गोङझाउ एसियाडमा आफूले राम्रो वैदेशिक प्रशिक्षण पाएकाले पदक जित्न सफल भएको उहाँ बताउनु हुन्छ । यस पटक पनि राम्रो वैदेशिक प्रशिक्षण पाएमा सरकारको योजनाअनुरूप नेपाली बक्सिङ टोलीले पदक दिनसक्ने प्रशिक्षक महर्जनको विश्वास छ । गोरखापत्र