महेन्द्रनगरमा गोली चल्यो, चार आन्दोलनकारी घाइते

महेन्द्रनगरमा गोली चल्यो, चार आन्दोलनकारी घाइते

कञ्चनपुर । कञ्चनपुरमा जारी आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको छ । निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन् । घाइतेमध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाएको हो । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले भने गोली नचलाएको दाबी गरेका छन् ।

उता महाकाली अञ्चल अस्पतालले भने तीन जना गोली लागेका व्यक्ति उपचारका लागि आएको पुष्टि गरेको छ ।

प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि दोषीलाई बचाउन प्रहरी सक्रिय भएको भन्दै आन्दोलन चर्र्किएको छ ।

मृतक बालिकाका आफन्त तथा स्थानीयहरुले वास्तविक अपराधी जागाउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई अभियुक्त बनाइएको आरोप छ ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो।

निर्मलाको वलात्कार पछि हत्या गरेको अभियोगमा घटनाको २४ दिनपछि सोमबार कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

विष्ट मानसिक अवस्था ठिक नभएको व्यक्ति रहेको बताउँदै घटनाको वास्तविक दोषी लुकाउन प्रहरीले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई पक्राउ गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र गरेको स्थानीयको आरोप छ।