कलाकार पक्राउ परेपछि टिभी शृंखलाको अवस्था के छ ?

कलाकार पक्राउ परेपछि टिभी शृंखलाको अवस्था के छ ?

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन गरेको आरोपमा जेठ ३२ गते प्रहरीले आठ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये पाँच जना त टेलिभिजनमा प्रसारण हुने हास्य सिरियलका कलाकार हुन् । जसमा मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु पौडेल राजु मास्टर, पवन खतिवडा म्याकुरी, बेगम नेपाली भटभटे माइला र सरोज घिमिरे ढेडो बुढो छन् ।

प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमति लिएर यी कलाकारलाई हिरासतमा राखिरहेको छ । यस्तोमा निकै व्यस्त र चर्चित कलाकार नै एक साताभन्दा बढी समयदेखि हिरासतमा बस्दा उनीहरु संलग्न हुँदै आएको टेलिभिजन कार्यक्रम प्रभावित बन्न थालेको छ ।

हिमालय टिभीमा प्रसारण हुँदै आएको बल्छी धुर्वे र राजु मास्टरको हास्य शृंखला ‘हल्का रमाइलो’ पुनः प्र्रसारण भइरहेको छ भने ‘जुठे’को नियमित प्रसारण जारी छ । ‘जुठे’ सिरियलका केही एपिसोड स्टकमा भएकाले प्रसारण नरोकिएको जनाइएको छ । यी दुवै सिरिजको लेखन तथा निर्देशनमा बल्छी धुर्वे र राजु मास्टर संंलग्न छन् ।

भटभटे माइलाको ‘गाह्रो छ हो’ र म्याकुरीको ‘ख्याल ठट्टा’को प्रसारण पनि भइरहेका छन् । कलाकार मात्र सहभागी भएका सिरियल उति प्रभावित छैनन् । अन्य कलाकार र टिमले यी सिरियलको छायांकन धमाधम गरिरहेका छन् । सरोज घिमिरेको श्रृंखला ‘परिवार’ पनि ग्यालेक्सी टिभीमा प्रसारण भइरहेको छ तर काम रोकिएको छैन ।

यी पाँच कलाकार पक्राउ परेको तेस्रो सातासम्म पनि सिरियल हल्का प्रभावित भए पनि रोकिएका छैनन् । ‘जुठे’का कलाकार रवि गिरी केही भाग स्टकमा भएकाले प्रसारणमा समस्या नभएको बताउँछन् । हिमालय टिभीबाट प्रसारण हुँदै आएको जुठे पछिल्लो समयको चर्चित सामाजिक र हास्य सिरियल हो । पक्राउ परेकाहरुमाथि युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप छ ।