बजेट बहुमतले पारित, पक्षमा खस्यो १४७ मत

बजेट बहुमतले पारित, पक्षमा खस्यो १४७ मत

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट (विनियोजन विधेयक, २०८०) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। बुधबार प्रतिनिधि सभामा भएको मतदानमा विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् पक्षमा १४७ मत परेको हो।

त्यस्तै, बजेटको विपक्षमा १०८ मत र तटस्थमा शून्य मत परेको छ। मतदानमा २५५ सांसद सहभागी रहेको सभामुखले जानकारी दिए।

सुरुमा ध्वनी मतका आधारमा सभामुखले बजेट पारित भएको घोषणा गरेका थिए। तर एमालेले मतविभाजन माग गरेपछि बजेटमाथि मतदान भएको थियो।

प्रतिनिधि सभा नियमवालीको नियम २९ मा सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ-आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले मत विभाजन गरी मत संकलन गर्ने व्यवस्था गरिएको छ।

सभामुखले नियम २९ को खण्ड ख अनसार नामावलीमा दस्तखतसहितको मत विभाजनद्वारा मत संकलन गरिने जानकारी गराएका थिए।

प्रतिनिधि सभाको आजको पहिलो बैठकमा एमाले र रास्वपाका सांसदले निर्वाचन आयोगको जिल्ला स्थित कार्यालयलाई सीडीओ कार्यालयमा सार्ने बजेटको व्यवस्थाको विरोध गर्दै संसद् अवरोध गरेका थिए। त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो।

झन्डै डेढ घण्टापछि बसेको अर्को बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले निर्वाचन आयोगको कार्यालय पहिले रहेकै अनुसार हुने भनेर रोस्ट्रमबाटै बताएका थिए। सोही अनुसार, बजेट ध्वनी मतले पारित भएको थियो