रेश्माको न डेब्यू फिल्म चल्यो न कमब्याक

रेश्माको न डेब्यू फिल्म चल्यो न कमब्याक

रेश्मा घिमिरेलाई टिकटकले चिनाएको हो । तर, टिकटकले चिनाउनुभन्दा धेरै अगाडि उनले फिल्ममा मुख्य अभिनेत्री भएर काम गरिसकेकी थिइन् । ८ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘यो साइनो मायाको’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो गाँसमै उनलाई ढुंगा लाग्यो । फिल्म न व्यावसायिक रुपमा सफल हुन सक्यो न रेश्माले अभिनयको प्रशंसा कमाइन् ।

डेब्यू फिल्मको असफलतापछि पढाईमा एकाग्र भएकी उनी एकाएक टिकटकबाट चर्चामा आइन् । अहिले उनको टिकटकमा १३ लाखभन्दा बढी फलोअर्स छन् । उनलाई ‘एक्सप्रेसन क्विन’ भन्ने गरिन्छ । टिकटकबाट चर्चामा आएपछि रेश्मालाई धेरै फिल्मबाट प्रस्ताव पुगे । तर, उनले ८ वर्षपछि फिल्म ‘अन्तिम संस्कार’ छनोट गरिन् । उनले विवाह गरेपश्चात् यो फिल्ममा काम गरेकी हुन् ।

रेश्मालाई कमब्याक फिल्मप्रति कति ठूलो आशा थियो भन्ने कुरा प्रचारमा उनको दौडधुपले देखाउँथ्यो । उनी यो फिल्मको प्रचारमा गजबसँग खटेकी थिइन् । तर, उनको डेब्यू फिल्मको जस्तै हविगत कमब्याक फिल्मको पनि भएको छ । फिल्मले प्रदर्शनको चार दिनमा जम्मा ४ लाख २४ हजार नेट कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । अर्थात् फिल्म ‘फ्लप’ भएको छ ।

श्रीमान बस्ने देश अमेरिका जाने तयारीमा रहेकी रेश्माले अब अभिनेता अनमोल केसीसँग फिल्म ‘फर्की फर्की’मा काम गर्न लागेको चर्चा छ । उनीसँग निर्माण टिमको मौखिक सहमति भैसकेको छ । फिल्ममा उनको सहायक भूमिका रहनेछ । डेब्यू र कमब्याक फिल्मको असफलताले दिएको चोटमा अब रेश्मालाई ‘फर्की फर्की’ले सफलताको मलहम-पट्टी गर्न पो सक्ला कि नसक्ला कुन्नी ?