जिल्ला निर्वाचन कार्यालयहरू जिप्रकामा गाभ्ने निर्णय फिर्ता हुन्छ : कांग्रेस मुख्य सचेतक

जिल्ला निर्वाचन कार्यालयहरू जिप्रकामा गाभ्ने निर्णय फिर्ता हुन्छ : कांग्रेस मुख्य सचेतक

काठमाडौँ  । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने बजेटको व्यवस्था संशोधन हुने प्रतिबद्धता जनाएका छन् । एमाले र रास्वपाले जिल्ला निर्वाचन कार्यालय गाभ्ने निर्णय सच्याउनुपर्ने माग गर्दै प्रतिनिधिसभाको कारबाही अवरोध गरेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

'अहिलेको नेपाल सरकारको आर्थिक वर्षको बजेटको सन्दर्भमा आयोगका विभिन्न कार्यालयमा गाभ्ने भन्ने कन्फ्यूजन भएको छ,' लेखकले भने,'आयोगका कार्यालयहरु स्वतन्त्र नै रहने गरी अर्थमन्त्रीले आजै प्रतिबद्धता जनाउनुहुन्छ कांग्रेस पनि यही पक्षमा छ ।'

लेखकले आयोगका कार्यालयहरु स्वतन्त्र राख्नेबारे राजनीतिक तहमै सहमति भइसकेको उनले जानकारी दिए ।

'आयोग कार्यालय नै रहने गरेर अघि बढ्ने गरी अर्थमन्त्रीले प्रतिबद्धता गर्नुहुनेछ । त्यसैले सरकार यो पक्षमा प्रतिबद्धता गर्छ । नेपाली कांग्रेस संसदीय दल पनि यो प्रतिबद्धता गर्दछ,' लेखकले भने ।