भारतको संसद् भवनमा राखिएको नक्साबारे प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको छु :मन्त्री साउद

भारतको संसद् भवनमा राखिएको नक्साबारे प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको छु :मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले भारतको संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री साउदले नक्साको विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली राजदूतलाई निर्देशन दिइसकिएको बताएका हुन् ।  

उनले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको भन्दै नक्साको विषय राजनीतिक विषय नभएको भनी भारतीय सरकारका विदेशमन्त्रीबाट आधिकारिक धारणा समेत आइसकेको बताए ।  

मन्त्री साउदले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिनपनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।  

मन्त्री साउदले भारतीय चलचित्र आदिपुरुषमा देवी सीताको बारेमा प्रयोग भएको संवादमा ‘फ्याक्चुअल इरर’ देखिएको भन्दै यस्तो हुनु उचित नभएको बताए । उनले सिता नेपालकी छोरी भएको तथ्य सर्वमान्य भएको र भारतमा समेत यो विषय निर्विवाद भएको उल्लेख गरे । 

मन्त्री साउदले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको कुरामा सरकार दृढ रहेको बताए । उनले यस विषयमा देशमा राष्ट्रिय सहमति नै रहेको बताए । उनले भारतसँग भएका सीमा समस्या समाधान स्थापित कूटनीतिक संयन्त्रमार्फत गरिने बताए । 

उनले नेपालले केही मित्रराष्ट्रहरूसँग विगतमा गरेका समझदारी अनुरुप परम्परागत रुपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको कुनै नीति नभएको स्पष्ट पारे ।