अछामको बुढीगङ्गामा झोलुङ्गे पुल सञ्चालनमा

अछामको बुढीगङ्गामा झोलुङ्गे पुल सञ्चालनमा

मङ्गलसेन । बुढीगङ्गा नदीमाथि निर्माण गरिएको कालावन झोलुङ्गे पुल सञ्चालनमा आएको छ । १०५ मिटर लामो यस पुलले मङ्गलसेन नगरपालिका र चौरपाटी गाउँपालिका जोडेको छ । 

झोलुङ्ग पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत ५४ लाख ९६ हजार रुपियाँमा अनुदानमा उपभोक्ता समितिबाट उक्त पुल निर्माण गरिएको हो । २०७८ साल फागुनमा सम्झौता भई २०८० सालमा पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । 

सम्झौता भएको सात महिनापछि निर्माण प्रारम्भ गरेर तोकिएकै अवधिमा पूरा भएको पुलले दुई पालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । दुई वटै स्थानीय तहका बासिन्दालाई नदी वारपार गर्न सहज भएको वडाध्यक्ष बृखबहादुर बोगटीले बताए । पुलको अभावमा मङ्गलसेन नगरपालिका–३ का वडावासी र चौरपाटी गाउँपालिकाका बासिन्दा लामो बाटो हिँडेर चित्रे पुलबाट वारपार गर्न बाध्य थिए । मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेललगायतको सहभागितामा पुलबाट आवतजावतको शुभारम्भ गरिएको हो ।