साफ च्याम्पियनसिप: भारतविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

साफ च्याम्पियनसिप: भारतविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

साफ च्याम्पियनसिपमा नेपाल अघिल्लो चरण पुग्ने या समूह चरणबाटै बाहिरिने तय शनिबार भारत विरुद्धको खेलबाट हुँदैछ। प्रतियोगितामा नेपाल र प्रशिक्षक भिन्सेन्जो अल्बर्टोको यात्रा कहाँसम्म हुने भन्ने तय पनि यसै खेलले नै हुनेछ।

नेपालले आफूअनुकूल नतिजा निकालेमात्र अघिल्लो चरणको आसा कायम राख्न सक्ने छ। अन्यथा साविक उपविजेता नेपाल समूह चरणबाटै घर फर्किने छ।

भारतलाई हराएमात्र पाकिस्तानसँगको अन्तिम खेलको महत्त्व रहने छ। अन्यथा समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेतको अघिल्लो चरण बलियो हुनेछ। अहिलेसम्म साविक च्याम्पियन भारत र आमन्त्रित टोली कुवेतको समान ३ भएकाले नेपाल पनि प्रतियोगितामा अंकको खाता खोल्न चाहन्छ।

शनिबारको पहिलो खेलमा कुवेतले पाकिस्तानको सामना गर्दा साँझ नेपाल र भारत भिड्नेछन्। यदि कुवेतले पाकिस्तानलाई हराएमा सेमिफाइनल नजिक पुग्नेछ। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ३/१ ले पराजित हुँदा भारत भने पाकिस्तानलाई ४-० ले हराएर रवाफिलो सुरुवात गरेको थियो।

तर भारतविरुद्ध नेपालले सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। भलै भारतले अधिकांश खेल जितेको भए पनि नेपालसँग भारत सधैं सशंकित रहने गरेको छ।

दक्षिण एसियामा नेपालको सबैभन्दा कट्टर प्रतिद्वन्द्वीका रूपमा रहेको भारतविरुद्ध सबैखाले गरी कुल २४ खेल खेलेको छ। पछिल्लो समय भारतको स्तर माथि पुगेको दाबीबीच श्री कान्तिरभा स्टेडियममा हुने यो खेलले दुबै टोलीको स्तरलाई केही हदसम्म आफ्नो धरातल स्पष्ट देखाउने छ।

भारतीय भूमिमा पहिलो जितको खोजीमा नेपाल

नेपालका लागि भारत विरुद्धको यो खेल धेरै अर्थमा अर्थपूर्ण छ। नेपाल भारतीय भूमिमा पहिलो जित चाहन्छ। त्यस्तै, साफ च्याम्पियनसिपमा अधिकांश नयाँ अनुहारहरू भारत विरुद्धको जितको उत्साह साट्न चाहन्छन्।

समग्रमा भारतसँग २४ पल्ट प्रतिस्पर्धा गर्दा नेपाल केवल तीनपल्ट मात्र विजयी भएको छ भने चार बराबरी खेलेको छ। बाँकी १७ खेलमा नेपाल पराजित छ। यो नतिजाले नेपालमाथि भारत पूर्ण रूपमा हावी भएको देखाउँछ।

साफ च्याम्पियनसिपमा त यो रेकर्ड अझ दयनीय छ। साफ च्याम्पियनसिपका आठ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको छ। बाँकी सात खेलमा नेपाल पराजित भएको छ। अझ नेपाल भारतसँग भारतीय भूमिमा भने जितविहीन रहेको छ।

अञ्जन र सुनिलको लय

नेपालले भारतको सामना गर्दा नेपालका स्टार स्ट्राइकर अञ्जन विष्ट नेपालका लागि नयाँ इतिहास रच्ने प्रयासमा रहेका छन्। नेपालको आस अञ्जनसँग टिक्दा भारत भने आफ्ना स्टार स्ट्राइकर सुनिल क्षेत्रीको लोभलाग्दो लयमा नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा रहने छ।

नेपालका स्ट्राइकर अञ्जनले कुवेतविरुद्ध आफ्नो करिअरको १२ औँ गोल सम्भव बनाएका छन्। अब उनी नेपालको सर्वाधिक गोलकर्ता बन्नबाट २ खेल टाढा छन्। तर उनले अब एक गोल गरेमा हरि खड्का र नीराजन रायमाझी समान १३ गोल गर्ने छन्।

भारतका स्ट्राइकर सुनिलले भने पाकिस्तानविरुद्ध ह्याट्रिकपछि आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ९० पुर्‍याएका छन्। सुनिलको यो तथ्यले उनी कति उम्दा खेलाडी हुन भन्ने प्रष्ट पार्छ।

अहिले विश्व फुटबलमा खेलिरहेका खेलाडीमध्ये उनी सर्वाधिक गोल गर्ने तेस्रो खेलाडीमा पर्छन्। उनी विश्व प्रसिद्ध क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीपछि सर्वाधिक गोलकर्ता हुन्। हो( यिनै उम्दा खेलाडीको चुनौती अन्त गर्नु पनि नेपालको अर्को परीक्षा हो।