श्रीलंकाले ओमानलाई १५ ओभरमै हरायो

श्रीलंकाले ओमानलाई १५ ओभरमै हरायो

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको छ ।

जिम्बाव्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा एसोसिएट टोली ओमानले दिएको ९९ रनको झिनो लक्ष्य श्रीलंकाले १५ ओभरमा बिना क्षति भेट्टायो ।

श्रीलंकाको जितमा दिमुथ करुणारत्ने ५१ बलमा ८ चौकासहित ६१ रनमा र पाथमु निसांका ३९ बलमा ५ चौकासहित ३७ रनमा नट आउट रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान ३२.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो । ओमानका लागि आयन खानले ६० बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाए । जतिन्दर सिंह २१ र फैयाज बटले १३ रन बनाए । अन्य कुनै पनि ओमानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ७.२ ओभरमा २ मेडनसहित १३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । लाहिरु कुमाराले ८ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिएका हुन् ।

श्रीलंकाले आइतबार आयरल्यान्ड र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । लगातार २ खेल जितेको श्रीलंकाको सुपर सिक्स पुग्ने सम्भावना बलियो छ । तेस्रो खेलमा पहिलो हार व्यहोरेको ओमानको पनि सुपर सिक्स पुग्ने संभावना छ ।