असार मसान्तभित्र एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने

असार मसान्तभित्र एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं । भन्सार विभागले अहिलेसम्म पनि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल असार मसान्तसम्म दर्ता गर्न अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले सेवाग्राहीलाई माेबाइल दर्ता गर्न अनुरोध गरेको हो ।

“आर्थिक विधेयक २०८० को दफा २४ मा भएको व्यवस्था अनुसार २०८० जेठ १५ सम्म नेपालमा पैठारी भई एमडीएमएस प्रणालीमा विभिन्न कारणले दर्ता हुन बाँकी रहेका मोबाइल फोनहरूको दर्ता प्रयोजनको लागि अनलाइन माध्यबाट तोकिएको राजस्व बुझाउन सक्ने व्यवस्था गरिएको छ,” सूचनामा लेखिएको छ, “उक्त प्रयोजनको लागि नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गई निर्दिष्ट गरिएको विवरण भरी तोकिएको राजस्व बुझाई आफूले प्रयोग गरेको मोबाइल फोन २०८० असार मसान्तसम्म दर्ता गर्नुहुन सरोकारवाला सबैलाई जानकारी गराइएको छ ।”

सरकारले जेठ १४ गते संघीय संसद्‌मा पेश गरेको आर्थिक विधेयक २०८० मा प्रयोगमा रहेका फोन (एमडीएमएसमा दर्ता गर्ने अन्तिम म्याद तोकिएको थियो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल करिब ५५ लाख (८३ लाख २७ हजार ६०६ आईएमईआई-प्रायः जसो फोनमा दुई ओटा आईएमईआई हुने) मोबाइल फोन एमडीएमएसमा दर्ता नभई प्रयोगमा रहेका छन् । यो गत वर्षकाे भदौदेखि गत १५ जेठसम्मको तथ्याङ्क हो ।

प्रयोगकर्ताले त्यस्ता मोबाइल फोन असार मसान्तसम्ममा एकमुस्ट महसुल भुक्तानी गरी त्यस्ता फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता गराउन सक्नेछन् ।

विधेयकमा एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनहरूका लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफाेन बाहेकका मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

गत भदौअघि नेपालमा प्रयोग रहेका फोनहरूलाई भने प्राधिकरणले स्वतः दर्ता हुने गरी ‘ह्वाइट लिस्ट’ मा समावेश गरिसकेको छ । जसमा छ करोड ९५ लाख ६६ हजार २७ ओटा आईएमईआई रहेका छन् ।

त्यसबाहेक भदौ यता व्यक्तिगत रुपमा भित्रिएका करिब २५ हजार फोनको ४० हजार आईएमईआई र आयातकर्ताले ल्याएका २५ लाख आईएमईआई पनि उक्त सिस्टममा दर्ता भइसकेका छन् । 

मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, कसरी थाहा पाउने ? 

-यसका लागि सबैभन्दा पहिला एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा खोल्नुहोस् अथवा यहाँ क्लिक गरी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टलमा जानुहोस् । 

-त्यहाँ थोरै तलतर्फ जानुहोस् र बायाँतर्फ दिइएको बक्समा आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर 'खोज्नुहोस्' लेखिएको निलो बटनमा दबाउनुहोस् । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ । 

-यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ । अन्यथा दर्ता नभएको जानकारी सहित दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनले लिङ्क सहितको विन्डो खुल्छ । टेकपानाबाट