जनशक्ति अभावमा एक्सरे सेवा बन्द, बिरामी मर्कामा

जनशक्ति अभावमा एक्सरे सेवा बन्द, बिरामी मर्कामा

बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ। जनशक्ति अभाव रहेकोले एक्स-रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका   मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए।

एक्स-रे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए। यसअघि एक्स-रे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्स-रे सेवा बन्द गर्नुपरेको हो।  

उनले भने, “पहिले प्यारामेडिक्सले जसोतसो एक्स-रे सेवा दिइरहेका थियौँ। तर एक्स-रे मेसिनसम्बन्धी उहाँहरुलाई पूर्ण ज्ञान छैन। यो सम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पुर्‍याउँछ। यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म सोमबारदेखि सेवा बन्द गर्न बाध्य भएका हौँ।’’

स्वास्थ्यको दृष्टिकोणले दक्ष जनशक्ति बिना एक्स-रे सेवा असुरक्षित रहेको र स्वास्थ्यलाई हानी गर्ने उनले बताए। उनले भने,“एक्स-रे मेसिनसम्बन्धी ज्ञान नभई सेवा दिँदा बिरामीलाई झन् खतरा हुनजान्छ, एक्स-रे मेसिन सञ्चालनका लागि रेडियो ग्राफर चाहिन्छ,रेडियो ग्राफरको पदपूर्ति नहुँदासम्म सेवा बन्द रहन्छ।”  

स्वास्थ्य केन्द्रमा जनशक्ति नहुँदा एक्स-रे सेवा बन्द भएकोबारे स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको मेलौली नगरपालिका जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको आरोप लागेको छ। जनशक्ति पदपूर्तिका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि स्वास्थ्य जस्तो संवेदनशील ठाउँलाई कुनै चासो नदिएको डा केसीको भनाइ छ।

मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण चन्दले भने नयाँ आर्थिक वर्षको बजेटमा जनशक्ति थप्ने तयारी भएको बताए। उनले भने,“एक्स-रे सेवा बन्द रहेकोबारे जानकारी प्राप्त भएको छ। तत्काल केही गर्न सकिने अवस्था देखिदैन्, नयाँ आवमा जनशक्ति थपेर स्वास्थ्य सेवालाई सहज बनाउँछौँ।”  

एक्स(रे मेसिन बन्द हुँदा चोटपटक लागेका बिरामीलाई अन्यत्र जान बाध्य भएका छन्। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रमको समेत सूचीकृत स्वास्थ्य संस्था भएकाले बीमा गरेका नागरिकलाई समेत समस्या हुने गरेको छ।

स्वास्थ्य केन्द्रमा दैनिक ५र६  एक्स-रे गर्नका लागि आउने गरेका भए पनि बिरामी सदरमुकाम, पाटन, डडेल्धुरा जान बाध्य भएका छन्।  रासस