मनकामनामा जन्ती सवार जीप दुर्घटना, ५ जनाको मृत्यु

मनकामनामा जन्ती सवार जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । छिरिङकोटबाट बेहुली लिएर आउँदै गरेको जन्ती चढेको जीप शुक्रबार बिहान करिब १ बजे दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।

शहीदलखन गाउँपालिका-३ पात्लेखोलामा प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो । गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।