नेपालले २ पटक विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दै

नेपालले २ पटक विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दै

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिताअन्तर्गत नेपालले भोलि बिहीवार निकै बलियो मानिएको वेस्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ ।

नेपाल र वेस्ट इन्डिज पहिलो पटक खेल्न लागेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो । वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्व कप जितेको थियो भने २०१२ र २०१६ मा टी–२० विश्व कप जितेको थियो । नेपालका लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले बताएका छन् ।

छनोट प्रतियोगितामा आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित समूह ए को तालिकाको शीर्ष स्थानमा छ । समान २-२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र १ खेल खेलेको नेदरल्यान्ड्स पुछारमा छ ।