कैलालीका पारसले १ लाखमै बनाए इलेक्ट्रोनिक मोटरसाइकल

कैलालीका पारसले १ लाखमै बनाए इलेक्ट्रोनिक मोटरसाइकल

धनगढी ।  कैलालीको गोदावरी नगरपालिका – ५ गेटाका पारस साउँदले १ लाखमै इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका छन । उनले आफ्नो व्यक्तिगत लगानीमा घरमै इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका हुन ।

गेटामा रहेको सरस्वती नमूना मावि कक्षा १० मा अध्ययनरत साउँदले घरमै कवाडबाट ल्याएका फलामका सामान प्रयोग गरेर मोटरसाइकलको च्यासिस निर्माण गरेको बताए । उनले अन्य इलेक्ट्रोनिक सामाग्री र व्याट्रि खरिद गर्दा कुल १ लाख खर्च भएको बताए । ‘यो मोटरसाइकल मैले घरमै बसेर आफ्नै खर्चमा बनाएको हँु । यसमा अहिले सम्म कसैको पनि सहयोग छैन’ उनले भने ‘आगामी दिनमा भने वडा र नगरपालिकाले सहयोग गर्ने भनेका छन ।’

उनले आगामी दिनमा अध्ययन संगै मोटरसाइकल बनाउने काम पनि संगसंगै गर्ने बताए । उनले निर्माण गरेको मोटरसाइकल प्रतिघण्टा ६० किलोमिटर कुद्ने दावी गरिएको छ । मोटरसाइकल एक पटक चार्ज गरेमा ८० किलोमिटर चल्ने साउँदको दावी छ ।

उक्त मोटरसाइकलको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । उनले मोटरसाइकलको उद्घाटन गर्दै मोटरसाइकल निर्माण गर्ने साउँदलाई नगरबाट ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।