'सञ्जीवनी 'बाट फिल्ममा डेब्यू गर्दै 'सकम्बरी'

'सञ्जीवनी 'बाट फिल्ममा डेब्यू गर्दै 'सकम्बरी'

धनगढी । गायक प्रकाश सपुतको 'सकम्बरी' बोलको गीतबाट चर्चामा आएकी कुसुम शर्मा फिल्ममा डेब्यू गर्दैछिन्।

उनले 'सञ्जीवनी' बाट फिल्म क्षेत्रमा डेब्यू गर्न लागेकी हुन्। यो फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गर्नेछन्।

फिल्ममा आर्यन सिग्देलको पनि मुख्य भूमिका रहनेछ। निर्माण टिमले आर्यन र कुसुमको पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन्। 

कुसुमले फिल्मका लागि उत्साहित रहेको बताइन्। 'फिल्म खेल्न पाउँदा उत्साहित छु। सकम्बरीलाई दर्शकले निकै रूचाउनु भयो त्यहिअनुसार फिल्ममा कस्तो काम गर्न सक्छु भन्ने डर छ,' उनले भनिन्, 'फिल्ममा मेरो भूमिका बलियो छ।'

प्रेमकथामा बन्ने फिल्ममा अभिनेत्री श्रद्धा श्रेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठलगायतको पनि अभिनय रहनेछ। यो फिल्मको छायांकन भदौबाट सुरू गर्ने बताइएको छ। दिनेश श्रेष्ठले यसअघि फिल्म 'शकुन्तला' र 'चि मुसी चि' निर्देशन गरेका छन्।